गण्डकी प्रदेश

कोभिड रोकथाम कोषका लागि सूर्य नेपालद्वारा एक करोड सहयाेग

३० असार, चिप्लेढुङ्गा । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि सूर्य नेपाल प्रालिले एक करोड आर्थिक सहयोग गरेको छ । सूर्य नेपालका तर्फबाट वाणिज्य प्रमुख गौतम यादव र कारखाना व्यवस्थापक बाबुराम कार्कीले आज प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले प्रदेशमा रहेको ठूलो प्रालिले कोभिड– १९ रोकथामका लागि दिएको सबैभन्दा ठूलो आर्थिक सहयोगले रोगविरुद्ध लड्ने दृढतामा बल पुगेको बताए । प्रमुख यादवले कोभिड–१९ को रोकथामका लागि सरकारको कोषमा रकम जम्मा गरेर सामाजिक उत्तरदायित्व वहन गरिएको स्पष्ट गरे ।
प्रदेश कोभिड रोकथाम कोषमा हालसम्म ३३ करोड तीन लाख १२ हजार ३९८ जम्मा र १८ करोड ५४ लाख ६६ हजार ५०० खर्च भएको प्रदेश सामाजिक विकास मन्त्रालयका लेखा प्रमुख दुर्योधन गिरीले जानकारी दिए । उनका अनुसार कोषमा हाल १४ करोड ४८ लाख ४५ हजार ८९८ मौज्दात छ ।