बाग्मती

काम शुरु भो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको

१ साउन, वाग्मती । वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो काम शुरुआत गरेको छ । प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डोरमणि पौडेलले प्रतिष्ठानका काम कारवाही विधिवत् शुरु भएको जानकारी गराए।

प्रतिष्ठानको आज यहाँ सम्पन्न पहिलो सभामा उहाँले प्रतिष्ठान वाग्मती प्रदेशवासीको सपना तथा आफ्नो पहिलेदेखिकै चाहना भएको बताए । उनले प्रतिष्ठानको उद्देश्य प्राप्तिका लागि समर्पित भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिए ।

सो अवसरमा प्रदेशका सामाजिक विकासमन्त्री तथा प्रतिष्ठानका सहकुलपति युवराज दुलालले प्रतिष्ठानमा चाँडै उपकुलपति तथा रजिष्ट्रार नियुक्त गरी काम कारवाहीलाई अगाडि बढाइने जानकारी दिए । उनले हेटौँडा अस्पताल आजबाटै प्रतिष्ठान मातहत आएको र प्रदेश मातहतका अन्य अस्पताललाई पनि प्रतिष्ठानमार्फत ल्याइने जानकारी दिए ।