समाचार

कांग्रेसका वरिष्ठ नेता पौडेलद्वारा राहत रकम हस्तान्तरण

३ साउन काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिराबाट आफन्त गुमाएका तनहुँको व्यास नगरपालिका–९ माझफाँटका केशर थापालाई शुक्रबार राहत रकम प्रदान गरेका छन् । श्रीमती, छोरा र बुहारीको पहिराबाट निधन भएपछि व्यास नगरपालिकाले थापालाई राहत रकम उपलब्ध गराएको हो ।

उक्त रकम वरिष्ठ नेता पौडेलले शुक्रबार पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत थापालाई हस्तान्तरण गरेका हुन् । पहिरामा पुरिएर घाइते ५० वर्षीय थापा गण्डकी मेडिकल कलेजमा उपचाररत छन् । पहिरोमा पुरिएर थापाका श्रीमती ४० वर्षीया कमला थापा, छोरा २४ वर्षीय मनोज, बुहारी २१ वर्षीया अञ्जना थापाको मृत्यु भएको थियो । कान्छा छोरा २० वर्षीय राजेश अझै बेपत्ता छन् ।

पहिराबाट ज्यान गुमाएकाका तीन जना मृतकको जनही रु ५० हजारका दरले रु एक लाख ५० हजार र घाइतेको उपचारका लागि रु २५ हजार गरी कूल रु एक लाख ७५ हजार वरिष्ठ नेता पौडेलले अस्पतालमा पुगी हस्तान्तरण गरेका हुन् ।

सो क्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष सुरेश थापालगायत सहभागी थिए । नगरपालिकाले पहिराबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक रु ५० हजार र घाइतेको उपचारका लागि रु ४० हजारसम्म उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही क्रममा वरिष्ठ नेता पौडेलले पहिराले पुरिएर घाइते ऋषिङ गाउँपालिका–८ भैँसीकिलेकी ६० वर्षीया ज्योतिमाया थापालाई पनि भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।