३ साउन काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले १२ बुंदे सम्झौता पछिको मार्गचित्र परिवर्तन गर्ने आंट गर्न नेकपा नेतृत्वलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले मुलुकमा अहिले मुलुकमा जारी राजनीतिक समस्या समाधान प्रधानमन्त्री परिवर्तन गरेरमात्रै नहुने बताएका छन् ।
उनले अहिले सत्तारुढ नेकपा भित्रको समस्या भनेको विवाद नीति/पद्दति/प्रणालीवारे नभई नितान्त व्यक्तिगत/व्यक्ति परिवर्तनमा केन्द्रित रहेको ठोकुवा समेत गरेका छन् ।
राप्रपाका अध्यक्ष थापाले जनादेश अनुसार ५ बर्ष मिलेर काम गर्नुपर्नेमा जोड दिँदै त्यसो गर्न नसकेमा १२ बुँदे समझदारीको प्रसंग ल्याउँदै राजतन्त्र ल्याउन सक्नुपर्ने संकेत समेत गरेका छन् ।
पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा आन्तरिक विवाद चुलिँदै गईरहेका बेला अध्यक्ष थापाले यस्तो सुझाव दिएका हुन् । नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने र ओलीले दुबै पद नछाड्ने अडान लिएपछि विवाद समाधान हुन सकेको छैन ।
उनको ट्वीटः सत्तारुढ दल नेकपाको विवाद नीति/पद्दति/प्रणालीवारे होईन, नितान्त व्यक्तिगत/व्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ । अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुंदैन । सक्नुहुन्छ भने १२ बुंदे सम्झौतापछिको मार्गचित्र परिवर्तनगर्ने आंट गर्नोस् । होइन भने जनादेश अनुसार ५ बर्ष मिलेर काम गर्नोस् ।