बाग्मती

असहाय र बेसहाराको आश्रयस्थल माइती वृद्धाश्रम

३ साउन, बनेपा । दार्जिलिङ घर बताउने अशोक राई करीब दुई महिनादेखि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९ त्रिवेणीघाट पारीपट्टिको प्राणनाथ माइती वृद्धाश्रममा बस्दै आएका छन् । सुरुमा सामान्य दुखाइ भएपछि बझाङ जिल्ला अस्पतालमा गएर जाँच गरी औषधि खाएको र पछि बढी नै भएर काठमाडौँको वीर अस्पतालमा गएर जचाउँदा धेरै नै समस्या भइसकेकाले दाहिने खुट्टा नै काटेर फालेका उनले मधुमेहको औषधिसमेत सेवन गरिरहेका छन् ।

वैशाख २८ गते वीर अस्पतालबाट वृद्धाश्रम आएका ६० वर्षीय उन अहिले वैशाखीको सहारामा हिँड्डुल गर्न सक्नुहुन्छ । वृद्धाश्रममा खाना, बस्न र हेरचाह पनि हुने भएकाले खुशी रहेको राईले बताए । आश्रमका सञ्चालक समिति अध्यक्ष रघुनाथ तिमल्सिनाले बन्दाबन्दीको बेलामा आश्रमको एकजना वृद्धालाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा त्यही उपचार भइरहेको राईलाई आश्रममा पठाएपछि अहिले त्यही बसिरहेको बताए ।

परिवारमा आफन्तै कोही नभएको र कामको सिलसिलामा बझाङमा ४० वर्षदेखि काम गर्दै आउनुभएका उन यसअघि भवन बनाउने निर्माण कार्यको ठेक्कापट्टाको काम गरेर जीवन गुजारा गर्दै आएका थिए । अहिले उनको बस्ने, खाने र औषधि उपचारको व्यवस्था वृद्धाश्रमले गर्दै आएको छ । वृद्धाश्रम अहिले राईको आश्रमस्थल बनेको छ । “परिवारमा कोही छैनन्, आफन्तहरु कहाँ छन् थाहा छैन”, उनले भने, “काम गर्न सकिन्जेल सीप बेचेर खाएँ, अहिले यस्तो अवस्थामा आश्रममा आइपुगेको छु ।”

रसुवाका एक वृद्ध पनि सोही आश्रममा बस्दै आएका छन् । तामाङ सो आश्रममा बस्दै आएको पाँच/६ महिना भयो । फोन गरेर उनलाई वृद्धाश्रममा राख्न अनुरोध गरेपछि आफूहरुले ल्याएर राखेको अध्यक्ष तिमल्सिनाले बताए । बजारमा मागेर खाने गर्दै आउनुभएका उनलाई पनौतीमा रहेको आश्रममा राम्रो व्यवस्थापनसहित हेरचाह हुने सुनेको भन्दै फोन गरेर पठाएको भनाइ उद्धृत गर्दै तिमल्सिनाले भने, “यहाँ असहाय, घरझगडादेखि हेरचाहमा समस्या देखिएकाहरुसमेत आउने गरेका छन् ।” कतिपय घरपरिवारलाई खोजेर सम्झाएर पठाउने गरेका छौँ, कतिलाई परिवारले नै पछि आएर लान्छन् ।”

आश्रममा बस्नेहरु कोही बिरामी भएमा पैसा खोजेर उपचार गर्ने गरेको आश्रम सञ्चालक समितिका अध्यक्ष तिमल्सिनाले बताए । “कोही बेला कसैले म उपचार गर्न सहयोग गर्छु भनेर आउनुहुन्छ, अधिकांश सञ्चालक समितिले खर्च गछौँ”, उनले भने । आश्रममा पूजा गर्ने बेलामा उठेको भेटीबाट पनि उपचारका लागि खर्च गर्ने गरिन्छ । अहिले सो आश्रममा काभे्र, दोलखा, रसुवा, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक लगायतका वृद्धवृद्धालाई राखिएको छ । आश्रममा योगा गराउने र समयसमयमा भजन गाउने गरिन्छ ।

तीन तले भवन रहेको आश्रममा अहिले करीब ४५ जना बस्दै आउनुभएको छ । आउनेजाने भइरहेका कारण यति नै भनेर यकिन नभए पनि पनौतीको प्राणनाथ माइती वृद्धाश्रम वृद्धवृद्धाहरुको आश्रयस्थल बनेको छ । महिला र पुरुषको छुट्टाछुट्टै व्यवस्थापन गरेर राखेको आश्रममा समितिका सदस्यहरु सबैले पालैपालो सहयोग गर्दै आएका छन् ।

पनौती कुम्भ मेलामा भागवत लगाएर सङ्कलन भएको ११ लाख र अरू साथीभाइबाट उठाएर जम्मा पारेको १६ लाखबाट जग्गा खरिद गरेको उनले बताए । पछि तत्कालीन जिविसबाट प्राप्त आठ लाख र अरू सहयोगी दाताबाट जुटाएको रकमले भवन निर्माणको काम सुरु गरेर आश्रमको व्यवस्थापन गर्दै आएको समितिले जनाएको छ । सो आश्रमको नाममा अहिले १८ आना जग्गा रहेकामा अर्को भवन निर्माण गर्ने योजना रहेपनि रकम अभावमा भवन निर्माण गर्न नसकेको समितिले जनाएको छ ।