४ साउन, कास्की । माछापुच्छ गाउँपालिका–८ खोराकोमुख पाखामा पहिराका कारण नौ घर परिवारका ४४ जना विस्थापित भएका छन् ।
यही साउन २ गते बिहानको पहिरामा परी स्थानीय प्रेमराज विकको घर पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । लगातारको वर्षा र पहिराको जोखिम कायमै रहेपछि पाखाका दुर्ई परिवारलाई सामुदायिक भवन तथा अन्यलाई छिमेकीकामा स्थानान्तरण गरिएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले बताए।
पहिराका कारण प्रेमराजका चारसहित रविलाल विकका छ जना, डिलबहादुर विकका सात, चित्रबहादुर विकका छ, सानो डिलबहादुरका चार, जसबहादुर विकका छ, आइबहादुरका चार, नारायण विकका छ जना र डिलबबहादुर विक गरी नौ परिवारका ४४ जना विस्थापित भएको वडाध्यक्ष दवाडीले जानकारी दिए ।
पहिराबाट पीडित परिवारलाई गाउँपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधिअनुसार राहत प्रदान गरिने गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले बताए । “विस्थापितलाई विद्यालयमा व्यवस्थापन गर्ने योजना थियो तर नजिकको विद्यालयमा क्वारेन्टिन रहेको र अन्यत्र टाढा हुने भएकाले हाललाई छिमेकी र सामुदायिक भवनमा राखिएकामा अख्तियारी प्राप्त भएपछि पीडितलाई गाउँपालिकाबाट राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दछौँ”, शाहीले भने ।
भिरालो जमिनमा रहेको पाखाको बस्तीमा घुम्ती सडकका कारणले पहिरो खसेको स्थानीयवासीको भनाइ छ । जिल्लामा हालसम्म प्राकृतिक विपत्तिका कारणबाट १० जनाले ज्यान गुमाएका छन् । पोखरा महानगरपालिकामा पहिरामा परी सात तथा माछापुच्छ गाउँपालिकामा तीन जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।