अन्तर्राष्ट्रिय

युरोपेली युनियनको शिखर बैठक अनिर्णित हुने जर्मन चान्सलरको चेतावनी

४ साउन, ब्रसेल्स । कोरोनाभाइरसबाट थलिएको युरोपेली अर्थतन्त्र उकास्न अघि सारिएको एउटा विशाल आर्थिक उद्धार प्याकेजमा युरोपेली युनियनका नेताहरुबीच सहमति हुने सम्भावना कमजोर हुँदै गएको जर्मन चान्सलर एन्जेला मर्केलले बताएका छन् ।

युरोपेली युनियनमा आबद्ध २७ वटा मुलुकका सरकार प्रमुखहरु यतिबेला युनियनको मुख्यालय ब्रसेल्समा तीन दिनदेखि सम्भावित आर्थिक प्याकेजमा सहमति जुटाउन वार्तामा छन् ।

दुई दिनदेखिको वार्तामा नेताहरुले सम्भावित प्याकेजको आकार र नियममाथि छलफल गरिरहेका छन्, तर यसमा सहमति जुट्न सकेको छैन ।

युरोपेली युनियनभित्र सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीकी चान्सलर मर्केलले युरोपेली नेताहरुबीच सहमति जुटाउन तीन दिनभन्दा बढीको वार्ता आवश्यक नदेखिएको विचार व्यक्त गर्नु भएको छ । उनले युरोपेली मुलुकका नेताहरुबीच अझै पनि धेरै कुरामा मतान्तर रहेको बताए ।

“म अहिल्यै कुनै समाधान निस्केला भन्नेमा विश्वस्त छैन,” चान्सलर मर्केलले भने, “वार्ताप्रति सबैको ठूलै सदभाव छ, तर आज नै कुनै निश्कर्ष निस्कन्छ भन्नेमा मलाई विश्वास छैन ।”

जर्मन चान्सलरको विचारप्रति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रो र शिखर बैठकका आयोजक युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिसेलले समर्थन जनाएका छन् । जर्मनी, फ्रान्स र परिषदले तयार पारेको नयाँ प्रस्तावमा नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट समेतका पाँच सदस्य मुलुकले विमती राख्नु भएपछि वार्ता लम्बिएको हो ।

नेदरल्यान्ड्सले सदस्य राष्ट्रहरुले श्रम बजार सुधारको सुनिश्चित गरुन् भन्ने चाहेको छ भने अस्ट्रिया, फिनल्याण्ड, डेनमार्क र स्वीडेनले ७५० अर्ब युरोसम्मको ऋण र अनुदान कटौती गर्न प्रस्ताव गरेका छन् ।

युनियनका सर्वाधिक शक्तिशाली मुलुकहरु जर्मनी र फ्रान्सले कोरोनाभाइरसबाट सर्वाधिक असर परेका मुलुकको आर्थिक उत्थानका लागि अघि सारेको प्रस्तावलाई युनियनकै एउटा समूहले विरोध गरेको छ । यसमा विरोध गर्नेमा मुख्य रुपमा स्पेन र इटाली रहेका छन् ।

फ्रान्सेली राष्ट्रपति म्याँक्रोले समग्र युरोप नै भाइरस र यसको प्रसार रोक्न गरिएका लकडाउनले गम्भीर आर्थिक मन्दीको अवस्थामा पुगेको भन्दै कुनै सम्झौता हुन सक्नेमा आफू अझै आशावादी रहेको बताए । तर उनले युरोपेली आकाँक्षालाई दाउमा राखेर कुनै सम्झौता हुन नसक्ने स्पष्ट गरे ।

उनले हामी स्वास्थ्य, आर्थिक र सामाजिक क्षेत्रमा अभूतपूर्व संकटको सामना गरिरहेको विषम परिस्थितिमा युरोपेली मुलुकहरुबीच अझ बढी सुदृढ एकता चाहिएको छ भने ।

युनियनका अध्यक्ष मिसेलले सबैलाई मान्य हुने सम्झौता तयार पार्न आइतबार रातभर काम गरेका थिए ।

एक फ्रान्सेली कूटनीतिक स्रोतले म्याँक्रो र मर्केलले प्याकेजमा व्यवस्थित अनुदानको रकमलाई ४०० अर्ब युरोभन्दा कम गर्ने नेदरल्याण्ड्सका प्रधानमन्त्री रुट र उनका सहयोगीहरूको दबाबलाई अस्वीकार गरेका छन् ।

युरोपेली नेताहरूले कोरोनाभाइरसबाट सर्वाधिक असर पारेका मुलुकहरुमा तत्काल नगद पठाउने एउटा योजना स्वीकृत गर्न कोशिस गर्दैछन् । विशेषगरी यो रकम स्पेन र इटालीलाई सर्वाधिक बढी जरुरी छ ।

नेदरल्याण्ड्सले युनियनका अध्यक्ष मिसेलको योजनाको प्रारम्भिक प्रस्तावलाई अस्वीकार गरेको छ किनकि नेदरल्याण्ड्सको विचारमा युनियनले ऋणको साटो बढी अनुदान दिएको बताउँदै आएको छ । अनुदान बढी प्राप्त गर्ने सम्भावित स्पेन, इटाली समेतका कतिपय मुलुकको सुशासनको स्तर कमजोर रहेको नेदरल्याण्ड्सको भनाई छ ।