कर्णाली प्रदेश

कोरोना कहरमै बन्यो योग भवन

२ भदौ, दैलेख । नारायण नगरपालिका– १ गणेशचोकमा ५० लाख लागतमा योग भवन निर्माण भएको छ । सो भवनको प्रदेशसभा सदस्य अमरबहादुर थापाले आज उद्घाटन गरे । निर्वाचन क्षेत्र विकासअन्तर्गत प्राप्त रकमबाट सो भवन निर्माण गरिएको हो ।
सो अवसरमा प्रदेशसभा सदस्य थापाले योगले मानिसलाई राम्रो काम गर्न अभिप्रेरित गर्ने भएकाले जिल्लाका वृद्ध तथा युवालाई योग सिकेर राम्रो कर्ममा लाग्न आग्रह गरे ।

कोरोना कहर बढेपछि निर्माण सम्पन्न नहुने हो कि भनेर चिन्ता गरेका योग साधकहरु अहिले खुशी देखिएका छन् । विभिन्न निकायसँग समन्वय गरेर भवन निर्माण सम्पन्न गरिएको योगगुरु शङ्कर थापाले जानकारी दिए । भवन निर्माण सम्पन्न गर्नका लागि प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले समेत सहयोग गरेको थापाको भनाइ छ ।

समय निकै कठिन भए पनि भौतिक संरचना राम्रो बनेको निर्माण समितिका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए । उक्त भवनमा दैनिक एक सय जनाले योग गर्न सक्ने जनाइएको छ ।