सुदूरपश्चिम

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि कञ्चनपुरमा निषेधाज्ञा

४ भदौ, महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि आज मध्यरात १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले तीज र गौरा पर्वमा यहाँ भीडभाड हुनसक्ने भएकाले आगामी भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए । “बजार पनि बेलुकी छिट्टै बन्द गर्न, सरकारी कार्यालयमा भीडभाड कम गर्न र यातायात सञ्चालनमा कडाइ गर्न निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हौँ”, प्रजिअ खतिवडाले भन्नुभयो, “सङ्क्रामक रोग र स्थानीय प्रशासन ऐनअनुसार यो निर्णय लिइएको हो ।” उहाँले निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने बताए।

पिसीआर मेसिन हस्तान्तरणको तयारी

जिल्लामै कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले रु ३८ लाखमा पिसीआर मेसिन खरिद गरेको छ ।

मुलुकमा बढ्दै गइरहेको सङ्क्रमण न्यूनीकरणका लागि परीक्षणलाई व्यापक बनाउन नगरपालिकाले आफ्नै लगानीमा पिसीआर मेसिन खरिद गरेको नगरपालिका कार्यालयका खरिद एकाइका प्रमुख इन्जिनियर हिमालयसिंह ऐरले जानकारी दिए । उनले नगरपालिकाले आह्वान गरेको सार्वजनिक सूचनाअनुसार सुदीप इन्टरनेशनलले ३८ लाखमा खरिद गरी नगरपालिकालाई उपलब्ध गराएको बताए ।

नगरपालिकाले केही दिनभित्रै महाकाली अस्पताललाई मेसिन सञ्चालनका लागि हस्तान्तरण गर्ने जनाएको छ । “प्रक्रिया पु¥याउनुका साथै विज्ञसित मेसिन जाँच गराएर सञ्चालनका लागि अस्पताललाई दिने तयारी छ”, उनले भने, “सुदूरपश्चिम प्रदेश सरकार र महाकाली अस्पतालको साझेदारीमा मेसिन सञ्चालन हुनेछ ।”

जिल्लामै प्रयोगशाला सञ्चालनमा आए काम गर्न सहज हुने कोभिड–१९ कञ्चनपुरका सम्र्पक व्यक्ति सिद्धराज भट्टले बताए । यसअघि यहाँबाट स्वाब सङ्कलन गरेर परीक्षणका लागि धनगढी पठाउने गरिएको थियो । “मेसिन सञ्चालनमा आए धेरै सहज हुने थियो”, उनले भने, “अहिले यहाँको ४०० स्वाबको रिपोर्ट आउन बाँकी छ ।”कञ्चनपुरमा हालसम्म ६०७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ५८५ जना निको भइसकेका छन् ।