वालिङ, १३ भदौ । स्मार्ट सिटीको अवधारणा अन्र्तगत स्याङ्जाको वालिङ नगरपालिकाका ११५ घरका खरको छाना हटाएर जस्तापाता लगाईएको छ ।
नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६/०७७ मा ती घरको खरको छाना विस्थापन गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।
गत आर्थिक वर्षमा नगरपालिकाको ५० लाख र शहरी विकास मन्त्रालयको सशर्त पाँच लाख गरी टेण्डर प्रक्रियामार्फत जस्तापाता खरीद गरी वितरण गरिएको वालिङ नगरपालिकाले जनाएको छ । “१४ वडाका खरका छाना विस्थापनका लागि लगत सङ्कलन गरेका थियौं”, नगरप्रमुख खाँणले भन्नुभयो, “२३० घरका छाना विस्थापनका लागि आवेदन परेकोमा गत आर्थिक वर्षमा ११५ वटाको खरको छानो हटायौ, बाँकी पनि हटाउनेछौँ ।
” स्वास्थ्यका दृष्टिले खरको छानो उपयुक्त हुँदाहुँदै आगलागीको संभावना हुने र छाना छाउने दक्ष कामदारको अभावले नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता लगाईदिने योजना बनाईएको बताइएको छ । “कतिपय घर परिवार छानो फेर्न नसक्ने अवस्थामा हुनुहुन्छ, खरको छानो भएका गरीब हुन् भनी फरक ढङ्गले हेर्ने र प्रवृत्तिको अन्त्य गर्न यो अभियान चलाईएको हो”, नगर प्रमुख खाँणले भने ।
खरका छाना भएका घरधनीले सम्बन्धित वडाको सिफारिस र छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकले हेरेर जस्तापाता दिने प्रक्रिया रहेको नगरपालिकाका जिन्सी शाखा प्रमुख राजेन्द्रप्रसाद रेग्मीले बताए ।