बाग्मती

अनलाइन डेलिभरी सेवालाई गरी खान देऊः विवेकशील नेपाली दल

१३ भदौ, काठमाडौं । विवेकशील नेपाली दलले अनलाईन डेलिभरी सेवालाई गरी खाने वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

दलकी उपाध्यक्ष अजिता राईले आज विज्ञप्ति जारी गर्दै काठमाडौँका विभिन्न स्थानहरूबाट अनलाइन डेलिभरी सेवा उद्यमीहरू, डेलिभरी गर्ने व्यक्तिहरू विना पक्राउ पुर्जी पक्राउ गर्ने र सवारी साधन नियन्त्रण लिने कार्य गृह मन्त्रालय अन्तर्गतका निकायहरूको मौखिक आदेशमा नेपाल प्रहरीबाट भएको भन्ने खबर प्रति विवेकशील नेपाली दलको ध्यानाकर्षण भएको जनाउदै उक्त माग गरेकी हुन् ।

साथै उनले सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन, र महामारीका बखत धेर–थोर रोजगारी सिर्जना गरिरहेका ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुन नहुनेमा जोड दिएकी छिन् ।

विज्ञप्ति माफर्त दलले सङ्क्रमण कम गर्न, क्वारेन्टिनमा बसेका तथा आवश्यक सेवा प्रदान गरिरहेका तथा कामदारको अभाव लगायत विविध कारणले प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका अन्य सेवा प्रदान गर्नेहरूलाई यस्ता सेवा प्रदायकहरू कति सहयोगी बन्न सक्छन् भन्ने प्रश्न गर्दै त्यो आयामबाट छलफल गर्दै एउटा प्रभावकारी माध्यमको पहिचान गरी सुरुवात गर्नु अबको मार्ग हुन सक्ने बताएको छ ।

यस्तै दलले कोभिड–१९ को महामारीले नेपालको हरेक क्षेत्र आक्रान्त भइरहेको अवस्थामा ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरूले निषेधाज्ञाको बेलामा डेलिभरी सेवा सुचारु गर्दै गरेकोमा धन्यबाद दिँदै उनिहरुको सेवाले घरबाट निस्कन नमिल्ने अवस्थामा पनि खाद्य तथा अन्य आवश्यक उपभोग्य सामानहरू डेलिभरी हुँदा आम नागरिकहरुलाई सहज बनाएको बताएको छ ।