१४ भदौ, रुकुमपश्चिम । रुकुम(पश्चिम)को मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बीमाको सेवा पाउने भएका छन् । गत आर्थिक २०७६/०७७ देखि शुरु भएको निशुल्क बीमा कार्यक्रम यस वर्ष पनि सञ्चालन हुने भएको छ ।
पशु तथा कृषि पेशामा आबद्ध कृषकलाई प्रोत्साहन गर्न सङ्घीय सरकाररले बीमाको व्यवस्था गरेको छ । बीमावापतको ७५ प्रतिशत रकम सरकारले र २५ प्रतिशत कृषकले व्यहोर्ने व्यवस्था छ । मुसीकोट नगरपालिकाले कृषकले तिर्नुपर्ने २५ प्रतिशत तिरिदिने गरेको छ । सङ्घीय र स्थानीय सरकारले रकम व्यहोरेपछि नगरपालिकाका कृषकले गत वर्षदेखि निःशुल्क पशु र बाली बीमाको सुविधा पाइरहेका छन् ।
सो कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको नगर प्रमुख देवीलाल गौतमले जानकारी दिए । कृषकको आकर्षण राम्रो भएको र व्यावसायिक रुपमा कृषि पेशामा लाग्न मद्दत पुगेकाले निरन्तरता दिइएको उनको भनाइ थियो ।
यस वर्ष नगरपालिकाले पशु र बाली बीमाका लागि दुईदुई लाख बजेट विनियोजन गरेको छ । गत वर्ष पनि शुरुमा यति नै बजेट विनियोजन गरिएकामा अपुग भएपछि पशु बीमाका लागि रु तीन लाख ८० हजार थप गरिएको थियो । गत वर्ष दुई हजार २ १४ पशुको बीमा गरिएको थियो ।
छ सय २८ कृषकका ५०३ भैंसी, १२३ गाईगोरु, २११ भेंडा र एक हजार ३७७ बाख्राको बीमा गरिएको नगर कृषि सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकारी दिए। “गत वर्ष शुरुमा विनियोजन गरिएको दुई लाख बजेट नपुगेर पछि तीन लाख ८० हजार बजेट थप गरिएको थियो, यस वर्ष पशु बीमा र पशु उपचार भनेर दुई लाख बजेट विनियोजन भएको छ”, उनले भने ।
त्यस्तै गत वर्ष बाली बीमाको सेवा भने ६६ कृषकले लिएका छन् । कृषकले आलु, काउली, टमाटरलगायत तरकारी बालीको बीमा गरेको नगर कृषि शाखा अधिकृत यज्ञबहादुर खड्काले बताए । उनका अनुसार गत वर्ष दुई लाख बजेट विनियोजन गरिएकामा एक लाख चार हजार नौ सय खर्च भएको थियो । बीमा गरेपछि कृषकले आफ्नो कृषि बाली तथा पशुपालनमा क्षति पुगे बीमावापत क्षतिपूर्ति पाउने गरेका छन् । यसले लगानी डुब्ने र सोही कारण कृषि तथा पशुपालनबाट पलायन हुने बाध्यता कम गर्न सहयोग पुगेको कृषक बताउँछन् ।