बाग्मती

रसुवामा महिला सामुदायिक भवन निर्माण

१५ भदौ, रसुवा । महिला वर्गले गर्ने कामको सहजीकरण गर्न दक्षिणी भेकमा सामुदायिक भवन निर्माण भएको छ । नौकुण्ड गाउँपालिका वडा नं ५ अन्तर्गत आँपचौर, खाल्चेत एवं गुरूङगाउँसमेतका स्थानमा तीन सामुदायिक महिला भवन निर्माण भएको वडाध्यक्ष घोण्टे ग्याम्दानले जानकारी दिए।
ती भवन निर्माणका लागि गाउँपालिकाका तर्फबाट ४० लाख खर्च भएको छ । महिलाका समस्या सामूहिक रूपमा छलफल गरी समाधान गर्न नयाँ भवनले सहज पार्ने गाउँपालिकाले जनाएको छ ।
यसैबीच माङ्सेखोला मुहान गरी चित्तीगाउँसम्म सिंचाइ कुलो निर्माण भएको छ । पानीको स्रोत नभएको चित्तीगाउँमा सिंचाइ सुविधा उपलब्ध गराउन निर्माण गरिएको कुलोबाट हाल करीब पाँच सय रोपनी जमीनमा धान रोपिएको छ । यसबाट दुई सयभन्दा बढी किसान लाभान्वित भएको वडा कार्यालयले जनाएको छ ।
चित्तीगाउँदेखि माथिल्लो भञ्ज्याङसम्मको गोरेटोबाटो तथा सानो भोर्लेदेखि ठूलो भोर्लेसम्म छोटो दूरीको ग्रामीण मोटरबाटोसमेत निर्माण भएको बताइएको छ ।