गण्डकी प्रदेश

बागलुङका सुकुर्दुङ खोलामा आएको बाढीले बस्ती बगायोः एक दर्जन सम्पर्क बिहिन

गलकोट, १८ भदौ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिएका छन् ।

“रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन”, भण्डारीले फोन मार्फत भने, “अहिले उद्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।” बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

उनले राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिएका छन् । घटनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन जान लागेको छ ।