समाचार

हुम्लामा भयानक आगालागीः ६ घर जलेर नष्ट

१७ भदौ, सिमकोट । हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केघाड गाउँपालिका वडा नं.७ को ठूलो गाउँमा बुधबार बेलुका आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करोडौँको क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ ।

आगलागीबाट ६ घर जलेर नष्ट भएका छन् भने १५ घरमा क्षति भएको वडा अध्यक्ष प्रशाद जैशीले बताए । आगलागीबाट सर्केगार्ड गाउपालिका वडा नं. ७ ठूलागाउँको बाहुन बाडामा रहेका जोख्या जैशी, हरिभक्त जैशी, अपिलाल जैशी, देवीसिंह जैशी, रुपकला जैशी र मथन जैशीका ६ घर पूर्ण रुपमा जलेको प्रहरी नायव उपरीक्षक सूर्य प्रसाद सुवेदीले बताए ।

अन्य १५ घरमा आंशिक क्षति भएको वडा अध्यक्ष जैशीले बताए । ठूला गाउँको बाहुन बाडामा रहेको जोख्या जैशीको घरबाट सल्किएर गाउँका अन्य घरमा आगो फैलिएको स्थानीयले बताएका छन् ।

आगो राती अवेर मात्र नियन्त्रणमा आएको वडा अध्यक्ष जैशीले जानकारी दिए । सबै घरसँगै जोडिएकाले आगो निभाउन बीचका केही घर भत्काइएको थियो ।

आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक सुवेदीले बताए । अग्नि पीडितका लागि राहतको पहल भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।