लुम्बिनी

अपाङ्गता भएका दम्पतीको घर निर्माणका लागि सहयोग

१९ भदौ, झिमरुक । माण्डवी गाउँपालिका—३ नयाँगाउँका बोल्न सक्ने क्षमता गुमाएका एक दम्पतीको घर निर्माणका लागि सहयोग रकम जुटन थालेको छ । जन्मजात रुपमा बोल्न सक्ने क्षमता गुमाएका ४५ वर्षीय एकराज अधिकारी र उनकी ४६ वर्षीया श्रीमती रेशमाको घर निर्माणका लागि विभिन्न व्यक्तिबाट अहिलेसम्म ३० हजार एक सय प्राप्त भएको छ । सो कार्यका लागि विभिन्न व्यक्तिले रु १५ हजार दिने प्रतिबद्धता जनाएकोे सामाजिक अभियानकर्मी हरि बस्नेतले जानकारी दिए । “यहाँका विभिन्न व्यक्तिबाट घर निर्माणका लागि आवश्यक ग्रिल र रङ्ग (पेन्ट) लगायत सामग्री उपलब्ध गराउने प्रतिबद्धता आएको छ”, उनले भने, “अबको केही दिनमा अधिकारी दम्पतीको घर निर्माणको काम शुरु गर्छौं ।”

आर्थिक रुपमा विपन्न अधिकारी दम्पतिका दुई छोरा र एक छोरी छन् । जेठो छोरा १५ वर्षीय आकाश अधिकारी कक्षा ९, माइलो छोरा १२ वर्षीय विकास अधिकारी कक्षा ६ र छोरी ७ वर्षीया करिष्मा अधिकारीले कक्षा २ मा पढ्छन् । छोरीछोरीले राम्रो अध्ययन गरेपनि बाबुआमा बोल्न नसक्ने भएपछि परिवारमा समस्या भएको स्थानीयवासीको भनाइ छ ।

अधिकारी दम्पतीको आफ्नै घर छैन् । कान्छो भाइले आफ्नो घरसंगै जोडिएको दुई कोठे पालीमा पाँच जनाको परिवार बस्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका उनीहरुको दैनिकी ज्याला मजदूरीको भर चल्दै आएको छ