समाचार

आज देशका केही स्थानमा हल्कादेखी भारी वर्षाको सम्भावना

२० भदौ, काठमाडौं । आज (शनिबार) पनि देशका केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले (बिहान) पनि प्रदेश १, ५ र सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ । देशका बाँकी स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली छ ।

यसैगरी आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

यसैगरी राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । साथै प्रदेश १, गण्डकी प्रदेश, तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

२४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै माशाखाले भनेको छ, प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।