२० भदौ, रामपुर । खरका छाना भएका घरमा जस्तापाता लगाउने कार्य पाल्पामा धमाधम चलिरहेको छ । खरको छानो विस्थापन गरी जस्तापाता लगाउन स्थानीय सरकारले कार्यक्रम ल्याएपछि घर छाउन नसकेर बसेका विपन्न, गरिब तथा असहाय परिवारले अहिले जस्तापाताले घर छाएका छन् । रामपुर नगरपालिका, रम्भा, पूर्वखोला, माथागढीलगायत गाउँपालिकाले यसै वर्षभित्र खरको छानो लगाउने कार्य सम्पन्न गर्ने योजनाअनुरुप कार्यक्रम सञ्चालन गरिहेका छन् । खरको छानो भएका घरमा स्थानीय तहले बजेट विनियोजन गरी यसै वर्ष सम्पन्न गर्ने लक्ष्यका साथ जस्तापाता उपलब्ध गराएका छन् ।
‘रामपुरको नगर, खररहित घर’ भन्ने नारासहित आर्थिक वर्ष ०७४/७५ देखि नगरपालिकाले जस्तापाता लगाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकामा खरका छाना भएका करीब आठ सय घरधुरीमा जस्तापाता लगाउने कार्यक्रमअन्र्तगत हालसम्म ४३९ घरधुरीमा जस्तापाता लगाउने कार्य सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्य बताए । पहिलो वर्ष रामपुर नगरपालिकाले पचास लाख रकम विनियोजन गरी एक सय ४६ खरको छानो भएका घरमा जस्तापाताको छानो उपलब्ध गराएको छ भने दोस्रो वर्ष नगरपालिकाले ५० लाख रकम छुट्याएर १३३ घरधुरीमा जस्तापाता वितरण गरिएको छ ।
तेस्रो वर्ष अर्थात् गत आर्थिक वर्षमा रामपुर नगरपालिकाको ५० लाख र प्रदेश सरकारको ५० लाख गरी एक करोडको वजेटमा १६० घरमा खरको छानो हटाएर जस्तापाताको छानो लगाइएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । घर छाउन नसकेर खरकै छानामुनि बसोबास गरेका विपन्न परिवारलाई जस्तापाता निःशुल्क सहयोग पाएपछि ठूलो राहत मिलेको वसन्ती रानाले बताए । उनले रामपुर नगरपालिकाले उपलब्ध गराएको ५० हजार बराबरको जस्तापाता घरमा लगाएपछि चुहिने छानोबाट मुक्त भएको बताए ।
आव ०७७र७८ का लागि रामपुर नगरपालिकाले ‘जनताको अपेक्षा, मेयरको शुभेच्छा’ कार्यक्रमअन्र्तगत ८० लाख रकमबाट खरको छानो हटाएर जस्तापाताको छानो लगाइने कार्यक्रम रहेको समितिका सदस्य तथा कार्यपालिका सदस्य सावित्रा गौतमले बताए । उन भने, “यस वर्ष नगरभित्रका खरका छाना भएका सबै घरधुरीमा जस्तापाता लगाउने कार्य सम्पन्न गर्ने योजनाअनुसार कामलाई तीव्र रुपमा अगाडि बढाएका छौँ, घरको क्षेत्रफल हेरेर आवश्यक पर्ने जस्तापाता वितरण गरिरहेका छौँ । तीन वर्षको अवधिमा नगरपालिकाले एक हजार ७१६ बण्डल जस्तापाता वितरण गरेको छ ।”
रम्भा गाउँपालिकाले गत वर्षदेखि शुरु गरेको खररहितको घर भन्ने कार्यक्रम यस वर्ष पनि निरन्तरता दिएर आउँदो असार मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । खरका छानो भएका २८३ घरधुरीमध्ये गत वर्ष २२० घरमा जस्तापाता लगाउने कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । गत वर्ष ५६ लाख बराबरको बजेटबाट जस्तापाता लगाइएको छ भने यस वर्ष ६३ खरका छाना भएका घरमा सङ्घीय सरकारको सहयोगमा करीब २० लाखदेखि २२ लाखको लागतमा जस्तापाता लगाउने कार्यक्रम रहेको अध्यक्ष भण्डारी बताए ।
माथागढी गाउँपालिकामा जम्मा पाँच हजार २४० घरमध्ये चार हजार ६७ जस्तापाता, पक्की ८५३, खरका छाना भएका ६२३ र टायल लगाएका ३२ घर छन् । यहाँ खरका छाना हटाएर जस्तापाता लगाउने कार्य आर्थिक वर्ष ०७४र७५ देखि शुरु भएको हो । तीन वर्षमा ४०० घरधुरीमा जस्तापाता लगाउने कार्य सम्पन्न भइसकेको छ भने यस वर्ष सङ्घीय सरकारको सहयोगमा बाँकी २२३ घरधुरीमा जस्तापाता लगाएर खरको छानोमुक्त गाउँपालिका घोषणा गर्ने गरी धमाधम कार्यक्रम गरिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिएका छन् । यस वर्ष गाउँपालिकाको ३० लाख बजेट विनियोजन गरिएको छ ।
पूर्वखोला गाउँपालिकाले पनि यसै आर्थिक वर्षमा खरको छानोरहित गाउँपालिका घोषणा गर्ने जनाएको छ । खरका छाना भएका ५५३ घरधुरीमध्ये बाँकी २१६ घरमा जस्तापाता लगाउने कार्यक्रम रहेको सूचना अधिकारी मोहन ढकाल बताए । बगनासकाली गाउँपालिकाले भने खरका छाना भएका २४९ घरमा जस्तापाता लगाउने कार्य गत आर्थिक वर्षको पुस मसान्तभित्र नै सम्पन्न गरिसकेको छ । गाउँपालिकाभित्र खरका छानालाई विस्थापित गरी ८० लाखको लागतमा जस्तापाता छाउने कार्य सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल बताए । यो जिल्लामै खरको छानोमुक्त पहिलो गाउँपालिका बनेको छ ।