२१ भदौ, विराटनगर । सुनसरी देवानगञ्ज–४ निवासी जयशङ्कर महतोले आफ्नी छोरीको हत्या भएको तर प्रहरीले जाहेरी लिन नमानेको आरोप लगाएका छन् । निजकी छोरी रिङ्कीकुमारी मेहता (महतो) विराटनगरस्थित इडेन बर्क कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत थिइन् । सोही गाउँपालिका बस्ने रमेशकुमार मेहताले यही भदौ ३ गते अपहरण गरी घरमा लगेर हत्या गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जयशङ्करले आरोप लगाए ।
“मेरी छोरीलाई घरमै हत्या गरी सल घाँटीमा बेरेर झुण्डाई आत्महत्या देखाउन खोजिएको छ । यसले हामीलाई झनै पीडित बनाएको छ । यस घटनामा प्रहरी प्रशासनले वास्तविकता छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ”, मृतकका बुबा जयशङ्करले भने । यस्तो जघन्य अपराधको मुद्दा लिन नमान्ने प्रहरी प्रशासनप्रति आक्रोश पोख्दै जयशङ्करले आफ्नी छोरीको हत्या भएको निवेदन हुलाकमार्फत पठाउनुपर्दा आफू झनै पीडित भएको बताए। आफ्नी छोरीको हत्या गर्नेलाई कानूनी कारबाही हुनुपर्ने माग पनि उनले गरे।





