गण्डकी प्रदेश

पोखरा फुड्स र स्वास्थ्य कर्मचारी सहित गण्डकी प्रदेशमा ६७ जनामा कोरोना पुष्टि

२२ भदौ, कास्की । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा स्वास्थ्य कर्मचारी, पोखरा औधोगिक क्षेत्रका ३१ जना सहित गण्डकी प्रदेशमा ६७ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

आज बिहान ५ः५० बजे दिइएको जानकारी अनुसार पोखरास्थित पोखरा फुड्सका मात्रै २५ जनामा संक्रमत पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा फुड्समा १७ जना महिला र आठ जना पुरुषमा संक्रमण भेटिएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

यसैगरी पोखराको पश्चिमाञ्चल अस्पतालमा चार जना र मेडिसिटीमा दुई जना संक्रमित थपिएको डा शर्माले जानकारी दिएका छन् ।

यता, गोरखाको गोरखा बजार र पालुङटारमा मात्रै १८ जना, नवलपरासीको देवचुली र गैडाकोटमा १५ जना, तनहूँको व्यास नगरपालिकामा तीन जना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।

भेटिएका सबै संक्रमितको स्वास्थ्य परीक्षण पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको हो । योसंगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ५८ सय ९८ जना पुगेका छन् ।

गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९ पुगिसकेको छ । आइतबार एक जना मृतक थपिएका हुन् ।