२३ भदौ, एजेन्सी । कोरोनाभाइरसको महामारीका कारण बन्द भएका कम्बोडियाका विद्यालयहरू पुनः खुल्न थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनादेखि बन्द भएका विद्यालयहरु सोमबारबाट पुनः सञ्चालन हुन थालेको जानकारी दिएका छन् ।
शिक्षा मन्त्री हाङ चौन नारोनले विद्यालय सञ्चालन गर्दा आधारभूत स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएका छन् । पठनपाठन गराउने विद्यालयहरूका लागि सरकारले छुट्टै निर्देशिका पनि बनाएको र त्यसको पूर्ण पालना गराउनुपर्ने शर्त राखिएको उनले बताए । सो निर्देशिका स्वास्थ्य मन्त्रालयले तयार पारेको हो ।
निर्देशिकामा हरेक शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनु पर्ने, तापक्रम परीक्षण गरिने, नियमितरूपमा हात धुनुपर्ने वा ‘सेनिटाइजर’को प्रयोग गर्नुपर्ने र सामाजिक दुरी कायम गर्नु पर्ने व्यवस्थाहरु समावेश गरिएको छ । सामाजिक दुरी कायम गर्नका लागि साढे एक मिटरको मापदण्ड बनाइएको पनि निर्देशिकामा उल्लेख गरिएको छ ।
त्यसैगरी कुनै पनि विद्यार्थी तथा शिक्षकमा ३७।५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम देखिएमा उनीहरुलाई विद्यालयमा प्रवेश गर्न नदिइने भएको छ । कुनै पनि कक्षाकोठामा २० देखि २५ भन्दा बढी विद्यार्थी राखिने छैन, मन्त्री नारोनले भने । उनले विद्यालयले त्यही अनुसार व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पारेका छन् ।
मन्त्री नारोनका अनुसार हरेक हप्तामा दुई वा तीन दिन मात्रै विद्यालयमा उपस्थित हुने र अरु दिन घरबाटै पढ्ने व्यवस्था गरिएको छ । कम्बोडियालाई कोरोनाभाइरसको महामारी रोक्न सफल देशका रुपमा लिइएको छ । दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा अहिलेसम्म कोरोनाका कारण २७४ जना सङक्रमित भएका छन् ।
कूल सङ्क्रमितमध्ये २७२ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने अहिलेसम्म कसैको पनि मृत्यु भएको पुष्टि गरिएको छैन ।