अन्तर्राष्ट्रिय

भारत र चीन सीमा तनाव फेरी बढ्ने संकेतः भारतले सीमा पार गरेर फायरिङ गरेको चितनको आरोप

२३ भदौ, एजेन्सी । दुई छिमेकी मुलुक भारत र चीनबीच सीमामा जारी रहेको तनाव फेरी बढ्ने संकेत देखिएको छ । गएराती सीमा भारतले चेतावनी फायरिङ गरेको चीनले आरोप लगाएको छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनालाई उदृत गर्दै भारतीय सेनाले सीमा पार गरेर फायरिङ गरेको र अवस्थालाई स्थिर गर्न बाध्य भएर जवाफी कारवाही गर्नुपरेको उल्लेख गरेको छ ।

भारतीय समाचार एजेन्सी एएनआइले समेत पूर्वी लद्धाखको सीमामा फायरिङ भएको उल्लेख गरेको छ । चीनको सेनाका प्रवक्ता सिनियर कर्नेल जोंग शियुलीले विज्ञप्ति जारी गर्दै भारतीय सेना भारत-चीन सीमा पार गरेर पन्गोग त्सो लेकको दक्षिणी किनाराको पहाड नजिक शेनपाओ पहाडको इलाकामा घुसेको बताएका छन् ।

चीनले यो उलंघनपछि भारत र चीनबीच पछिल्लो पटक बनेको सहमतिको गम्भीर उल्लंघन भएको जनाउदै तनाव बढ्न सक्ने संकेत गरेको छ । चीनले यसबाट दुवै पक्षमा असमझदारी बढ्ने र यो कदम सेनालाई उत्तेजित बनाउने कदम भनेको छ । साथै चीनले भारतलाई सीमा क्षेत्रमा यस्ता गतिबिधि बन्द गर्न र सीमाबाट सेना फिर्ता लैजान आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ ।

यो घटना केहि दिनअघि भारत र चीनका रक्षामन्त्रीको मस्कोमा छलफल पछि भएको छ । साथै दुवै देशका विदेशमन्त्री समेत मस्कोमा भेट गर्न लागेको बेला यो घटना भएको छ । यस अघि गत जुन १५ मा यसै क्षेत्रमा भारत र चीनका सेनाबीच भएको झडपमा भारतका २० सैनिक मारिएका थिए ।