२७ भदौ, चितवन । कोरोना संक्रमणका कारण चितवनमा एक पुरुषको मृत्यु भएको पुष्टि भएको छ । चितवनको रत्ननगरपालिका–२ का ४६ वर्षीय पुरुषको भरतपुरको सरकारी अस्पतालमा शुक्रबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
अस्पतालको आकस्मिक कक्षमा बिहीबार राति आउँदा नै मृत्यु भएका व्यक्तिको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार राति संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिएका छन् । बिहीबार राति साढे १० बजे उनलाई आफन्तहरुले भरतपुर अस्पताल ल्याएकोमा सोहिबेला मृत्यु भएको थियो ।
आफन्तहरुले उनमा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या आजएपछि स्वाब संकलन गरेर परीक्षणका लागि पठाएकोमा शुक्रबार राति नतिजा पोजेटिभ आएको सूचना अधिकारी पौडेलले बताएका छन् । यो संगै कोरोना भाइरसको संक्रमणका कारण चितवनमा योसहित २७ जनाको मृत्यु भएको छ ।
जसमध्ये १६ जना चितवनका नै छन् । अरु उपचारका लागि भरतपुरका विभिन्न अस्पतालहरुमा आएका चितवन बाहिरका व्यक्तिहरु छन् । भरतपुरको सरकारी अस्पतालमा शुक्रबार साँझ पनि एक जना कोरोना संक्रमित ६१ वर्षीय पुरुषको निधन भएको थियो ।