बाग्मती

‘द आर्ट अफ लिभिङ नेपाल’ले बाल दिवशमा सोमबार कार्यक्रम गर्दै

२७ भदौ, काठमाडौैैं । द आर्ट अफ लिभिङ नेपालले राष्ट्रिय बाल दिवसको अवसरमा भाद्र २९ गतेका दिनका लागि अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । सुनौलो भविष्यतर्फ उन्मुख रहेका बालबालिकाह कार्यक्रममा उपस्थित भई आफ्नो हालसम्मको जीवन यात्रा र यात्रामा सिकेका अनुभवहरु व्यक्त गर्ने बताईएको छ । देशभरिका बालबालिकाहरुका लागि कार्यक्रममा राखिएका प्रस्तुति अवश्य पनि प्रेरणा दायक हुने द आर्ट अफ लिभिङ नेपालंको तर्क छ । यसका साथै उक्त कार्यक्रमले बालबालिकाहरुका हकहितका लागि कार्य गर्ने संस्थाको प्रतिनिधिहरु पनि यस कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाउने बताइएको छ ।

कार्यक्रममा सानै उमेरमा आफ्नो सुरिलो आवाजले सबैलाई मनमुग्ध बनाउन सफल आयुश के.सी. आउने द आर्ट अफ लिभिङ नेपालले जनाएको छ । उनी राष्ट्रिय तहमा आयोजित सुरमाला आइडलको विजेता हुनुका साथै भारतको “सा रे ग म प” भन्ने गायन प्रतियोगितामा अन्तिम चरणसम्म पुग्न सफल भएका थिए । त्यसैगरी नेपालको यू–१९ क्रिकेट टिमका क्यापटेन रोहित कुमार पौडेल पनि यस कार्यक्रममा सहभागि हुनेछन् ।
द आर्ट अफ लिभिङ नेपालले विज्ञप्तीमार्फ भनेको छ, ‘बालबालिका भनेका भोलिका कर्णधारहरु हुन । जब बालबालिकाहरुका हक अधिकार र शैक्षिक आवश्यकता पूरा गर्न सकिन्छ तब मात्र हामी उज्वल भविष्यको परिकल्पना गर्न सक्छौं । उमेर छदै बालबालिकाहरुलाई सही दिशा दिन सक्यौं भने अवश्य नै उनीहरु पछि गएर जीवनमा सफलता हासिल गर्न सक्दछन । सांस्कृतिक, आध्यात्मिक र मानवीय मूल्यलाई आत्मसात गर्दै यस कार्यक्रमले बालबालिकाहरुका सिर्जना, कला तथा अनुभवहरुलाई प्रस्तुत गर्ने मौका दिई उनीहरुलाई प्रोत्साहित गर्नेछ । यसका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसंग अहिले रहेका बालबालिकाहरुका हालको अवस्था, उनीहरुका आवश्यकता पूर्तिमा आउने समस्याहरु तथा निकट भविष्यमा रहेका अवसरहरुका बारेमा पनि चर्चा गरिनेछ ।’
साँझ ४ बजे देखि ६ बजे सम्म आयोजना गरिने उक्त जुम कार्यक्रममा बालबालिकाका लागि मनोरञ्जनको समेत कार्यक्रम राखिएको बताईएको छ ।