२७ भदौ, झापा । मेचीनगर नगरपालिकाका आर्थिकरुपमा विपन्न दुई महिलाको दुवै मिर्गौला खराब भएपछि उपचारमा अर्थ अभाव भएको छ । वडा नं १० की १७ वर्षीया अरिस्ता परियार र वडा नं ९ की ३० वर्षीया निर्मला ढुङ्गानाको दुवै मिर्गौला खराब भएको हो । उनीहरुको हप्तामा दुई पटक डाइलासिस गरिँदै आएको छ ।
धुलााबरी माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै गरेकी अरिस्ताको उपचारमा आर्थिक अभाव भएका कारण सहयोगका लागि वडाध्यक्ष गोपाल खड्काको संयोजकत्वमा सहयोग समिति गठन गरिएको आमा लक्ष्मी परियारले बताए ।
दुवै मिर्गौला खराब भएकी निर्मलालाई चिकित्सकले तत्काल मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएको र छोरीका लागि एउटा मिर्गौला दिन आफू तयार रहेको आमा लक्ष्मीमायाले बताए । बिहे गरेको तीन महिनापछि निर्मलाको मिर्गौलामा खराबी देखा परेको थियो । उनको उपचारमा २० लाखभन्दा बढी खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ । उनको उपचारमा सहयोग जुटाउन गिरिराज धमलाको संयोजकत्वमा बचाउ समिति गठन गरिएको छ ।
मिर्गौला खराब भएपछि डाइलासिस र औषधि निकै महंँगो पर्ने तथा नयाँ मिर्गौला प्रत्यारोपण खर्च अरिस्ता र निर्मलाजस्ता विपन्न परिवारले धान्न नसक्ने मेची उद्योग वाणिज्य सङ्घका महासचिव ध्रुव कनालले बताए। मिर्गौला खराबी भएर थलिनुभएका अरिस्ता र निर्मलालाई नयाँ मिर्गौला प्रत्यारोपण गर्न आवश्यक भएको हुँदा आर्थिक सहयोग जुटाउन अपिल गरिएको कनालले बताए ।





