२८ भदौ, सिन्धुपाल्चोक । बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका तीन जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीया सर्कीनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
नागपुजेमा १५ र भीरखर्कमा नौ र अन्य ३ गरी अझै २८ जना बेपत्ता छन् । उनीहरुको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेका छन् ।
सिन्धुकोटका नौ घर जोखिममा
मेलम्ची नगरपालिका–५ सिन्धुकोट गोल्पुटोलमा गएरातिको अविरल वर्षापछि आएको पहिरोको कारण बस्ती जोखिममा परेको छ । नौ घर रहेको उक्त बस्तीमा चारैतिर पहिरो आउन थालेपछि बस्नका लागि जोखिम भएको हो ।
तत्काल बस्ती नसारेमा थप विपत्तिको सामना गर्नुपर्ने स्थानीय सुनिल मिजारले बताए । त्यसैगरी सिन्धुकोटकै कमल श्रेष्ठ, चेतकुमारी राना, रामबहादुर राना, कृष्णबहादुर मिजार, डल्ली सार्की र कुमार मिजारको घर पनि जोखिममा परेको छ ।
यस्त, जुगल गाउँपालिकाको चनौटेमा पाँच घर पहिरोमा परेको छ । दुई घर पूर्णरूपमा पुरिएको छ भने तीन घरमा क्षति पुगेको छ । एक जना घाइते भएको गाउँपालिका उपप्रमुख सिर्जना तामाङले जानकारी दिए ।
पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक आउँदै छन् । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गरेको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले सबैलाई उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन् । उनले घटनामा दुःख ब्यक्त गर्दै सबैलाई उक्त पीढामा साथ दिन आह्वान गरेका हुन् ।