२८ भदौ, इलाम । सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका योगेन्द्र सुबेदी(माधव)को दुई दशक भलिबल खेलमा बित्यो । कहिले खेलाडी बनेर त कहिले प्रशिक्षक भएर । जुनसुकै पद र मर्यादामा रहेरपनि माधव भलिबलमा समर्पित रहेका छन् ।
चाहे गाउँको धुलोमा होस् वा सदरमुकामको अब्बल मैदान । भलिबलको सुइको पाउने वित्तिकै माधव हानिनु हुन्थ्यो । विद्यालयमा पढ्दा नै माधवको मनमा भलिबलले मन तानेको थियो । कक्षा ६ देखि भलिबल खेल्न शुरु गरेका उनी १० कक्षामा पुग्दा त माधव अब्बल खेलाडी बने । उच्चस्तरीय अध्ययनका लागि सदरमुकाम पसेपनि विदाको समय गाउँ पुगेर माधव भलिबलमा सामेल भएरै छाडे । जबजब माधवको कक्षा बढ्दै गयो । तबतब, भलिबलको मोह पनि उचिलिदै गयो । स्नातक अध्ययनका लागि सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस माधव भर्ना त हुनुभयो तर पढाइमा ध्यानै गएन । क्याम्पसको पढाइले भन्दा प्राङ्गणको भलिबलले तानेपछि पढाइ कसरी उभो लाग्थ्यो र !
माधवले क्याम्पस अध्ययनकै समयमा अन्तरक्याम्पसदेखि अन्तरजिल्लासम्मका प्रतियोगिताको कप्तानी समाले । भलिबलमा लत बसेपछि माधवले रेफ्री कोर्ष गरे । दुई दशक भलिबलमा गुजार्दा पनि माधवले भविष्य भेटेन्न् । पछि पारिवारिक सल्लाहअनुसार माधवले घरमै बसेर चियाबारीको काम गर्न थाले । दुई वर्ष गाउँमा समय गुर्जादा माधवलाई नयाँ काम गर्नुपर्छ भन्ने ‘हुटहुटी’चल्न थाल्यो । इलामे पहिचान बोकेका वस्तु गाउँमा नबिकेको देख्दा माधवलाई चित्त बुझेन । गाउँमा फल्ने अकबरे बजार नपाएर कुइएको र दूध नबिकेको देख्दा माधवको मनै खिन्न भयो ।
यतिकैमा माधव सदरमुकाममा पसल खोल्ने मोडमा पुगे । “गाउँमा फलेको चिया र गाउँकै छुर्पी र खुर्सानी बेच्न सदरमुकाम सरे” सदरमुकाम सरेर माधवले चिया र छुर्पी मात्र बुचेन्न् । सदरमुकाम छेउछाउकै किसानबाट दूध किनेर नगरबासीलाई दूध र दही बेच्न थाले । अहिले माधवले ५०/६० किसानबाट दूध किनेर बजार क्षेत्रमा दूध र दही बेच्ने गर्नुहुन्छ ।
शुरुआतमै इलामे पहिचान (चिया, अकबरे, छुर्पी) बेच्नुभएका उनलाई देशका शहर/शहरमा यस्ता वस्तु बेच्न मन छ । अहिले पसलबाट काठमाडौं, चितवन र पोखरामा माधवले यी सामग्री पठाए । उनको व्यवसाय इलाम सदरमुकामस्थित माइपोखरी अर्गानिक एग्रिकल्चर सप्लार्यसबाटै इलाम चिनाउने योजना पूरा भएको छैन । उनलाई इलाममा उत्पादन भएको घ्यु खारेर देशका कुनाकुनामा लगेर चखाउने मन छ । “हाम्रा अर्गानिक प्रोडक्ट कसैले चिन्दैन । देशमै पनि इलामको चिया भनेर दाना (सिटिसी) चिया बेच्छन्” माधवले भने,“म देशका उत्कृष्ठ शहरहरुमा यस्ता वस्तुको प्रवद्र्धन गर्न खोज्दैछु ।”





