२९ भदौ, भरतपुर । चितवनका होटल र यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । लकडाउन र निषेधाज्ञाले व्यवसाय धरापमा पर्न गएको जनाउँदै उनीहरुले सञ्चालनको माग गरेका हुन् । उनीहरुले यहाँका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइलाई ज्ञापनपत्र बुझाउँदै बाँच्ने आधार तय गरिदिन अनरोध गरे ।
यातायात व्यवसायीले अगामी असोज १ गतेदेखि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन । उनीहरुले प्रशासनले स्वीकृति नदिए स्वतःस्फुर्त यातायता सञ्चालन गर्ने बताएका छन ।
गत चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञालाई यातायात व्यवसायीले कडाइका साथ पालना गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदीले बताए । उनले भने, “यातायात व्यवसाय ठप्प हुँदा व्यवसायीसंगै मजदुरको दैनिकी कष्ठकर बन्न थालेको छ, ६ महिनादेखि रोजिरोटी खोसिएको छ ।” उनका जिल्लामा ७० हजार भन्दा बढी यातायात व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको छन् । पुरानो नारायणी यातायात प्रालिका कार्यालय प्रमुख शंकर गिरीले सुरक्षाका उपायहरु अवलम्बन गरेर यातायात व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरे । उनले व्यवसाय धरापमा पर्न गएको अवस्थामा बैंकको किस्ता लगायतका तनाब व्यवसायीले झेल्नु परेको बताए । कोरोना भन्दापनि आर्थिक कारणले मानिसको ज्यान जाने खतरा बढेको उनको भनाई छ ।
यस्तै भरतपुर मलमल यातायात प्रालिका अध्यक्ष चिनी बहादुर बोहोराले व्यवसाय सञ्चालन नहुँदा यातायातका साधनमा खिया लाग्ने अवस्था आएका बताए। उनले स्थानिय स्तरमा प्रशासनले समन्वय गरेर यातायात सञ्चालनको वातावरण बनाइदिनुपर्ने उल्लेख गरे । प्रजिअ भट्टराइले जिल्लामा कोरोनाका सङ्क्रमित झन् बढ्दै गएकाले यथास्थितिमा सार्वजनिक सवारीसाधन सञ्चालन सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो,“यातायात नचल्दा धेरैलाई समस्या भएको छ भन्ने मैले बुझेको छु तर तत्काल सञ्चालनमा ल्याउँदा सङ्क्रमण फैलने खतरा छ ।” यतायात व्यवसायीहरुले प्रशासन कार्यालयले जारी गरेको पास दुरुपयोग गरी नीजि सवारीसाधनले समेत यात्रुहरुले ओसार पसार गरेको आरोप समेत लगाएका छन । यस्तै व्यवसायीले नेपाल राष्ट्रबैकद्वारा जारी गरिएको कोभिड १९ प्रभावित उद्योग,पर्यटन,यातायात र कृषि व्यवसायलाई पुनरकर्जा र कर्जा सहजीकरण तालिका लागु गर्नुपर्ने व्यवस्थालाई स्थायिन रुपमा लागु नभएको जनाउँदै पहल गरिदिन समेत प्रशासनसँग माग गरेका थिए ।
होटल सञ्चालनको माग
होटल व्यवसायीले सञ्चालनको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन । होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले प्रजिअ नारायण प्रसाद भट्टाइलाई ज्ञापनपत्र बुझाइ होटल सञ्चालनको माग गरे। घरभाडा, बैंक व्याज र मजदुर व्यवस्थापनको समस्या जटिल बन्दै गएकाले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनुपर्ने संघको माग छ । लकडाउन र निषेधाज्ञाले सबैभन्दा धेरै समस्या होटल व्यवसाय परेको अध्यक्ष न्यौपानेले जानकारी दिए । उनले भने, “धेरै होटलहरु भाडामा सञ्चालित छन, भाडा तिर्न घरबेटीको निरन्तर दबाब झेलिरहनुपरेको छ ।”
नेपाल होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष इमान्दु बरालले स्वास्थ्य सावधानी अपनाएर होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरे । संघका जिल्ला उपाध्यक्ष कृष्ण भट्टले होटल व्यवसाय सञ्चालन भइसकेपछि पनि ग्राहकहरु आउन समय लाग्ने भएकाले क्रमशः खुल्ला गर्दै जानुपर्ने बताए। सो अवसरमा प्रजिअ भट्टराइले उनले परिस्थितिलाई क्रमशः सहज बनाइदै लगिने जानकारी दिए ।