अन्तर्राष्ट्रिय

रूसी विपक्षी नेता नाभाल्नीको स्वास्थ्यमा सुधार

२९ भदौ, बर्लिन । रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय रुपमा सुधार आएको छ ।

उनको उपचार गरिरहेको बर्लिनस्थित अस्पतालका अनुसार उनले सोमबार अस्पतालको शैयाबाट उठेर छोटो समय हिँडेका छन् । अस्पतालद्वारा नाभाल्नीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी विज्ञप्तिमा भनिएको छ, “विरामी (नाभाल्नी)लाई मेकानिकल भेन्टिलेसनबाट छुट्टाइएको छ । उनले अहिले हात गोडा चलाउने अभ्यास गर्न थाल्नुभएको छ । साथै सोमबार अस्पतालको शैयाबाट उठेर छोटो समय हिडडुल गरेका छन् ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक मानिने नाभाल्नी चियामा रसायन मिसाएर दिएपछि बेहोस भएको उनका प्रवक्ता तथा पारिवारिक स्रोतले दावी गर्दै आएको छ । नाभाल्नीलाई उपचारका लागि अगष्ट २२ मा उपचारका लागि रुसबाट जर्मनी ल्याइएको थियो । जर्मनीका रासायनिक हतियार विज्ञहरुले गरेको परीक्षणमा ४४ वर्षीय नाभाल्नीलाई दिइएको खानामा सोभियतकालीन स्नायुसम्बन्धी तत्व (नोभिचोक) मिसाएर दिइएको जनाएका छन् ।