पु.समाचार

कोरोना संक्रमणका कारण मकवानपुरमा एक पुरुषको गयो ज्यान

३० भदौ, मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणका कारण एक जना पुरुषको मृत्यु भएको छ । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका–८ सिमपानीमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मृत्यु हुनेमा ६८ वर्षीय पुरुष रहेको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुष दम र मुटुको रोगलगायत रोगबाट पीडित थिए भने उनी दुईदिनदेखि बिरामी थिए । अकस्मात सोमबार बिहान घरमै ढलेका उनको मृत्यु समेत भएपछि स्वाब संकलन गरी हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा परीक्षणका लागि ल्याइएको थियो । परीक्षणका क्रममा उनको स्वाबको नतिजा पाजिटिभ आएको मनहरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

उनको शव आज मंगलबार बिहान नेपाली सेनाले व्यवस्थापन गरेको छ । कोरोनाको नतिजा नआउँदासम्म गाउँपालिकाले शव सदगद नगर्न परिवारलाई आग्रह गरेको थियो । उनीसँगै मकवानपुरमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पछिल्लो समय नेपालमा कोरोनाका कारण कयौंले ज्यान गुमाईरहेका छन् भने संक्रमित पनि बढ्दै गएका छन् ।