बाग्मती

काठमाडौंमा फुटपाथका पसल हटाउने अभियान शुरु

३० भदौ, काठमाडौं । काठमाडौँका असन, इन्द्रचोकलगायतका भित्री वस्तीलाई व्यवस्थित बनाउन त्यस क्षेत्रमा फुटपाथ पसल हटाउने अभियान शुरु गरिएको छ । वस्ती वरपरका स्थानमा पछिल्लो समयमा बढ्दै गएको फुटपाथ पसलले सवारी आवागमनका साथै पैदलयात्रुलाई समस्या परेपछि जागरुक युवा समाजले अभियान थालेको हो ।
सार्वजनिक बाटो ओगटेर राखिएका यस्ता पसलले भीडभाड बढ्न गई वस्तीको सौन्दर्यता कमी आउने, विभिन्न रोगका सङ्क्रमणको जोखिम थपिने र व्यापारिक कारोबारमा कर चुहावट हुने भएकाले अभियान शुरु गरिएको बताइएको छ । स्थानीय युवाको सक्रियता रहेको अभियानले स्थानीय तह, सुरक्षाकर्मीलगायतसँग समन्वय गरी सम्पदामाथिको अतिक्रमण निरुत्साहित गर्ने, प्राचीन महत्वका स्थल तथा ऐतिहासिक वस्तुको संरक्षण गर्ने लक्ष्य राखेको छ ।
काठमाडौँ महानगरपालिका­२५का सदस्य विनोद तुलाधरले भित्री वस्ती क्षेत्रमा पसल खोलिएका कारण विगतमा धेरै पैदलयात्रु दुर्घटना भई घाइते तथा केहीको मृत्यु समेत भएको अवस्थामा शुरु गरिएको अभियानको प्रशंसा गरे। अभियानका सल्लाहकार समेत रहेका तुलाधरले यस प्रकारका पसललाई कुनै पनि हालतमा बैधता दिन नहुने बताए ।