समाचार

झण्डै ६ महिनापछि आजदेखी लामो दुरीका यातायात सञ्चालनमाःयस्ता नियम पालना गर्नुपर्ने

१ असोज, काठमाडौं । आजदेखी देशैभरी लामो दुरीका यातायात सञ्चालनमा आउँदै छन् । मुलुकमा कोरोना फैलन थालेपछि बन्द भएको झण्डै ६ महिना पछि लामो दूरीका सार्वजनिक यातायात बिहीबार आजदेखि सञ्चालनमा आउन लागेका हुन् । विभिन्न स्वाय प्रोटोकलहरु अपनाउँदै यातायात सञ्चालनमा आउन लागेका हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात चलाउन दिने निर्णय गरेको थियो । ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी सार्वजनिक यातायात चल्न दिने निर्णयमा उल्लेख छ । एक लाइनको सिटमा एक जना मात्रै यात्रु राखेर यातायात सेवा सञ्चालन गर्नुपर्ने सरकारको सर्त छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार मन्त्री, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आज बिहीबारदेखि लामो दूरीका सवारी सञ्चालन गर्ने सहमति भएको थियो । त्यसको मापदण्ड बनाउन यातायात व्यवस्था विभागलाई जिम्मा दिइएको छ । त्यही मापदण्डभित्र रहेर व्यवसायीले लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्नुपर्नेछ ।

आजदेखी यातायात सञ्चालनमा आउने भएपनि दसैंका लागि अग्रिम टिकट सम्बन्धमा भने टुंगो नलागेको यातायात व्यवसायीले बताएका छन् । १० दिनको अवस्था अध्ययन गरेर मात्र अग्रिम टिकट खोल्नेतर्फ केन्द्रित हुने महानिर्देशक गोगनबहादुर हमालले बताएका छन् ।

अहिलेको यो स्थिति सामान्य रहिरहे असोज दोस्रो सातासम्म सरोकारवाला निकायसँग छलफल गरी निर्णय लिइने हमालको भनाई छ । अघिल्ला वर्षमा दसैं सुरु हुन लाग्दा उपत्यकाबाट थातथलो जाने यात्रुका लागि अग्रिम टिकट खुला हुने गरेको थियो । अग्रिम टिकट लिन यात्रुको लामो घुइँचो लाग्ने गर्छ ।

यस्तै यातायात व्यवसायीले विगत वर्षमा दसैंका लागि गाडी थप्ने गरेका थिए । तर, यो वर्ष कोरोना कहरको पीडामा रहेकाले गाडी थप हुने सम्भावना न्यून रहेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् ।

यसैबिच अग्रिम टिकट खरिद गर्न काउन्टरमा भीडभाड गर्दा कोरोनाको जोखिम उच्च हुने ट्राफिक इन्जिनियर आशिष गजुरेलले जानकारी दिएका छन् । विगतको तुलनामा यस वर्ष उपत्यकाबाट दसैं मनाउन बाहिरिने यात्रुको संख्या कम हुनेछ । लकडाउन सुरु हुनुअघि धेरै जना उपत्यकाबाट बाहिरिएका थिए । यस वर्षदेखि अग्रिम टिकट अनलाइनमार्फत बिक्री गरिने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने इन्जिनियर गजुरेलले बताएका छन् ।

यस्तै सरकारले आजदेखी होटल तथा रेष्टुरेन्टहरु पनि खोल्ने निर्णय गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेर सबैखाले व्यवसाय चलाउन दिने निर्णय गरेका हुन् । यस्तै अत्यावश्यक र निर्माण सामग्रीबाहेकका सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली भने कायमै रहनेछ  । अब उपत्यका प्रवेश र बाहिर जान पनि पाइनेछ  ।