३ असोज, बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संविधान देशको मूल कानून मात्र नभएर देश हेर्ने आँखी झ्याल भएको बताएका छन्। हेटौँडाका रासस समाचारदाता रिपेश दाहालसँगको कुराकानीमा उनले संविधानका अक्षरहरु पुस्तकमा सीमिति नभई आम नागरिकका व्यवहारमा सजीव भएर अभिव्यक्त हुने विश्वास व्यक्त गरे । “संविधान कागजी दस्तावेज मात्र होइन । राज्य प्रणाली, शासनको स्वरुप, अधिकार र कर्तव्यको बाँडफाँड, शक्ति पृथकीकरण र सन्तुलन, निर्वाचन प्रणाली, मौलिक हकको व्यवस्था लगायत विषयहरु सङ्ग्रहित यो राज्यको विधान हो । यसले देश र जनताको जीवनमा महत्वपूर्ण र दूरगामी अर्थ राख्दछ ।” उनले भने ।
उनले जनताले आफ्नो लागि आँफैले बनाएको पहिलो संविधान जारी भएको ऐतिहासिक एवम् गौरवपूर्ण दिनको रुपमा स्मरण गरे । “प्रजातन्त्रको लागि भएको सङ्घर्षदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा देशको परिवर्तनका लागि हजारौं नेपाली जनताको रगत र पसिना बगेको छ । यस अवसरमा परिवर्तनका आन्दोलनमा देश र जनताको हितका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । शहीदको सपनालाई पुरा गर्न अविश्रान्त लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु । विशेषगरी वंश परम्परामा आधारित एकात्मक एवम् केन्द्रीकृत राज्यसत्ताले समयसापेक्ष जनताको माग र आवश्यकता सम्बोधन गर्न नसकेपश्चात नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षको परिणमस्वरुप देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो” मुख्यमन्त्री पौडेलले भने ।
उनले नेपालको संविधानले एकात्मक राज्यको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसास्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात् गरेको, विविधताबीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रबद्र्धन गरेको उल्लेख गर्नुभयो । सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प समेत लिएको उनले बताए ।
त्यसैगरी प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने अठोट लिएको उनको भनाई छ । विश्वका संविधानहरुको तुलनामा नेपालको संविधान उत्कृष्ट रहेको र यसले सबै जातजाति भाषाभाषि, धर्म, सम्प्रदायका जनताको पहिचानको सम्मान र अधिकारको सुनिश्चिता गरेको मुख्यमन्त्री पौडेलले उल्लेख गरे । समावेशीकरणको नीति अन्तर्गत विगतमा राज्यको चरित्र एवम् व्यवहारका कारण पछाडि पारिएका सबै वर्गलाई राज्यको मूल प्रवाहीकरणमा समाहित गर्ने लक्ष्य राखेको जनाउँदै उनले समग्रमा धर्म निरपेक्षता, विविधता व्यवस्थापन, सङ्घीयता, समावेशीकरण र समाजवाद संविधानको महत्वपुर्ण पक्षहरु रहेको उल्लेख गरे ।
मुख्यमन्त्री पौडेलले सङ्घीय व्यवस्था अन्तर्गत सङ्घ, प्रदेश र स्थानीय तहमा सरकारको निर्माण गरी शासनको बाँडफाँट गर्ने र निक्षेपणका माध्यमबाट जनतालाई बढीभन्दा बढी शासनमा सहभागी गराउने उद्देश्यले संविधानको अनुसूची ५ देखि ९ सम्म विभिन्न तहका सरकारका एकल र साझा अधिकारका सूचीहरु निर्धारण गरिएको बताए । उनले तीन तहका सरकारबीचको सम्बन्धलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरिएको र यसैको आधारमा तीनै तहको सरकार जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउन क्रियाशील रहँदै आएको बताए ।
“संविधान यथार्थमा साध्य होइन, साधन मात्र हो । ऐतिहासिक संविधान सभाबाट संविधान जारी भएपछि हाम्रो बाटो र गन्तब्य प्रस्ट भएको छ । यसर्थ सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प सहित अघि बढेको छ । विगतलाई बिर्सिएर होइन । विगतबाट पाठ सिकेर वर्तमानमा समृद्धिको बलियो जग बसाउदै विश्व मानचित्रमा पुनः गौरवपूर्ण एवम् बैभवशाली इतिहास निर्माण हामीले नै गर्ने हो, किनकि अरुलाई दोष लगाएर पञ्छिन अब हामीसँग इतिहासका राजा महाराजाहरु छैनन् । अब त्यो छुट छैन । आजको यो क्षणसम्म आइपुग्दा हामीले आफैद्वारा निर्माण गरिएको संविधान मार्फत आफू शासित हुने लोकतान्त्रिक पद्धतिलाई स्थापित गरिसकेका छौ । अब हामी सबैको मिहिनेत समृद्धिको लागि हुनुपर्दछ । तसर्थ आजको यस संविधान दिवसले सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुमा संविधान प्रतिको आस्था र सम्मान अभिबृद्धि गर्दै समृद्ध नेपाल निर्माणका लागि थप प्रेरणा प्रदान गर्ने विश्वास गर्दछु” उनले भने ।