४ असोज, काठमाडौं । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र वाग्मती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोप्न महिलाहरु सक्रिय भएका छन् । संविधान दिवसको अवसर पारेर गोकर्ण महिला सञ्जालमा आबद्ध महिलाको समूहले शनिबार मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी वनस्पति गुर्जो रोपेका छन् ।
सञ्जालको ११ औँ साधारणसभाको समेत अवसर पारेर आयोजना गरिएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले करिब १०० वटा गुर्जोका बिरुवा उपलब्ध गराएका थिए । लाहानको सरकारी निवास परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापी रूपमा वितरण शुरु गरेका राजलवटले वाग्मती किनारलाई गुर्जो रोपण केन्द्र बनाएर एक हप्ता अघिदेखि नै निःशुल्क वितरण गरिरहेका थिए । गत हप्ता उनले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति गुह्येश्वरीस्थित कार्यालयमा पनि बिरुवा उपलब्ध गराएका थिए । वाग्मती किनारका अन्य स्थानमा राजलवटले गुर्जो वितरण गरेका थिए ।
सुन्दरीजलबाट बानेश्वरसम्मको नदी किनारका बस्तीमा गुर्जो वितरण गर्ने अभियान जारी छ । घरघरमा गुर्जोको बिरुवा पुर्याउने अभियानमा लाग्नुभएका राजलवट आफूले ११ वर्षदेखि नियमितरूपमा सेवन गर्दा फाइदा पुगेकाले प्रचारप्रसारमा लागेको बताउछन् । गुर्जोको नियमित सेवनपछि आफूले निरोगी अनुभव गरेको उनले जानकारी दिए ।
मधुमेह रोगबाट पीडित भएकाले नियमितरूपमा गुर्जोको सेवन गरेमा अन्य औषधि खानुनपर्ने आफैँले अनुभव गरेपछि सामूहिकरूपमा बिरुवा वितरण अभियानमा लागेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी बताउछन् । गुर्जोले मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नुका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउन गुर्जो उपयोगी रहेको उनले बताए ।
विश्वव्यापी रूपमा कोरोना भाइरस फैलिएका बेला शरीरभित्र रोग प्रतिरोधी क्षमता बढाउन यसको नियमित सेवन उपयोगी भएको अनुभव प्रयोगकर्ताको छ । शनिबार गोकर्णमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरसभा सदस्य जयराम महतले पनि आफूले छ महिनादेखि गुर्जोको उपयोग गर्दा ग्यास्ट्रिक ठिक भएको अनुभव सुनाए ।
रुघा, खोकी, ज्वरो, रगतको कमी, आँखा, कान, छाला, पाइल्स जस्ता रोग निको गर्न पनि गुर्जो उपयोगी प्रमाणित भएको अभियानकर्मी राजलवट बताउछन् । गर्भवती महिलाले भने गुर्जोका प्रयोग गर्नुहुँदैन । पाँच वर्षमुनिका बालबालिकालाई पनि यसको सेवन नगराउनु राम्रो हुन्छ । डाँठ, पात दुवै प्रयोग गर्न सकिने गुर्जो सुकाएर वा काँडा पानी बनाएर दुवै रूपमा उपयोग गर्न सकिन्छ ।
आयुर्वेद शास्त्रले भनेको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस रहन्छ, त्यसलाई त्यहीँ उम्रने वनस्पतिले औषधीको काम गर्छ भनेझैँ गुर्जोले नेपालीको स्वास्थ्य रक्षामा काम गर्ने अनुभव प्रयोगकर्ता गरेका छन् ।
हालसम्म राजलवटले देशभर ६० हजार गुर्जोका विरुवा वितरण गरेका छन् । राजधानीका विभिन्न नगरपालिकामा समेत गुर्जो वितरण गरिएको उनले जानकारी दिए । नगरपालिकामार्फत् राजधानीवासीका घरघरमा गुर्जो रोपण अभियान विस्तार गरिने जनाइएको छ ।
कार्यक्रममा नगरपालिकाकका उपप्रमुख शान्ति नेपालले बहुउपयोगी वनस्पति गुर्जो रोपण अभियानमा सहयोग गरिने प्रतिबद्धता जनाए । महिला सञ्जालको संस्थापक अध्यक्षसमेत रहेकी उनले महिला समूहमार्फत् घरघरमा गुर्जो रोप्ने अभियान चलाइने बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिवसमेत रहनुभएका किशोर जोशीले गुर्जो रोप्न चाहने सबैलाई निःशुल्क वितरण गर्ने अभियानमा आफूहरु सक्रिय रहेको जानकारी दिए । महिला सञ्जालका कार्यवाहक अध्यक्ष लक्ष्मी गिरीलगायतको समूह गुर्जो रोपण अभियानमा सक्रिय छ ।