४ असोज, काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार एवं परिवर्तनका लागि पटक–पटक अनसन बस्नु भएका डा. गोविन्द केसी हाल एक साता देखि कर्णाली प्रदेशको जुम्ला जिल्लामा विगतका माग राखी पुनः अनसनमा बस्नु भएको भन्दै उहाँले राख्नु भएका जायज मागहरुलाई सरकारले सम्बोधन नगरेको प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अनसनका कारण उहाँको दिनप्रति दिन स्वास्थ्य स्थिति नाजुक भइरहँदा पनि सरकारले उहाँको मागलाई वेवस्ता गर्नु अत्यन्त दुःखद विषय भएको संसदीय दलले बताएको छ । दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज रुपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गर्नु भएको सत्याग्रह प्रति ऐक्यबद्धता जनाउँदै तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको स्वास्थ्य सम्बन्धित अध्यादेशलाई समेत कार्यान्वयन गर्नका साथै डा. केसीले उठान गर्नु भएको विषयलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गरी उहाँको जीवन रक्षाको लागि सरकार समक्ष नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ । साथै अनसनरत डा. केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’





