अन्तर्राष्ट्रिय

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

१७ असोज, एजेन्सी । कोरोनाभाइरस सङ्क्रमित अमेरिकी राष्ट्रपति उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनलाई ज्वरो आएको बताइएको छ । ह्वाइट हाउसले राष्ट्रपति “थकित भएको तर राम्रो अवस्थामा रहेको“ र सावधानी अपनाउन अस्पताल पर्याईएको जनाएको छ ।

ट्रम्प र उनकी पत्नी मेलानिया दुवैलाई कोभिड(१९ पोजिटिभ भएपछि ट्रम्पलाई विभिन्न औषधिको मिश्रणको सुइ दिइएको थियो । डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडनसँग राष्ट्रपतीय निर्वाचनका लागि प्रतिस्पर्धा हुन लागेको एकमहिनाअघि ट्रम्पका लागि यो सम्भावित धक्का हो ।

मास्क र सुट लगाएका ट्रम्प शुक्रवार अपरान्ह ह्वाइटहासबाट आफ्नो हेलिकोप्टर मरिन वानमा वासिङ्टन डीसीको सहरको बाहिरीभेगमा रहेको वाल्टर रीड न्याशनल मिलिटरी मेडिकल सेन्टरसम्म छोटो उडान गरेर गएका थिए । हेलिकोप्टर चढ्नुअघि उनले संवाददाताहरूलाई हात हल्लाएका थिए र बुढी औँलाले ’ठिक छ’ भन्ने सङ्केत गरेका थिए तर केही बोलेका भने थिएनन ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी काइली मक्नानीले विज्ञप्तिमा जारी गर्दै राष्ट्रपति ट्रम्पमा कोरोनाको सामान्य लक्षणहरू देखिएका छन् र दिनभर काम गरिरेको बताएकी छिन् ।

साथै सावधानीका लागि र राष्ट्रपतिका फिजिसियन र मेडिकल विज्ञको सुझाव अनुसार उनाँले अबका केही दिन वाल्टर रीड अस्पतालस्थित राष्ट्रपति कार्यालयबाटै काम गर्ने उनको भनाई छ ।