१८ असोज, सिन्धुपाल्चोक । पिस्कर पुग्ने पक्की सडक निर्माणको काम शुभारम्भ गरिएको छ । पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र वाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आयोजनाको साबेलले सडकको माटो पन्छाएर बाह्रबिसे –धुस्कुन पिस्कर सडकको काम शुभारम्भ गरे ।
वाग्मती प्रदेश सरकारको ५९ करोड लगानीमा बाह्रबिसेदेखि सुनकोसी– धुस्कुन हुँदै शहीदभूमि पिस्कर पुग्ने चौडा कालोपत्र सडक आयोजनाको काम शुभारम्भ गरिएको हो । सो सडक आयोजनामा बाह्रबीसेदेखि पिस्करसम्मको सडक आठ मिटर चौडा गर्दै कालोपत्रे हुनेछ ।
शुभारम्भ समारोहमा पूर्वमन्त्री बोहोराले पिस्करमा पक्की सडक जनताको ठूलो सपना रहिआएको बताए । सैँतीस वर्षअघिको पिस्कर हत्याकाण्ड स्मरण गर्दै उनले शहीद इले थामी, वीरे थामीलगायतको बलिदानीले आज मुलुकमा राजनीतिक, सामाजिक परिवर्तन भएको बताए ।
वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनी र स्थानीय प्रशासनलाई निर्देशन दिए। ‘समय अगावै काम सम्पन्न गर्नुस्, वाग्मती सरकारले तपाईंहरुलाई उचित पुरस्कार र सम्मान गर्नेछ’, निर्माण कम्पनीलाई मन्त्री फुयाँलले भने । आयोजनाको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनका प्रतिनिधि सुरेनविक्रम योञ्जनले निर्धारित समयमै काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे ।