लुम्बिनी

कोरोना संक्रमणका कारण बाँकेमा एक ५१ वर्षे कोरोना संक्रमित पुरुषको मृत्यु

१९ असोज, काठमाडौं । दैलेखका एक जना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । दैलेखको नारायणपुर नगरपालिका वडा नम्बर ८ का ५१ वर्षीय पुरुषको आइतबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

आन्द्रामा पनि समस्या देखिएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबार नै शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।

भर्ना गर्दाकै बेला ती पुरुषको स्वास्थ्य अवस्था जटिल रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । ती पुरूषको मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । आइतबार नै बाँकेमा कञ्चनपुरकी एक २९ बर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

बाँकेका २० र बाहिरी जिल्लाबाट उपचारका लागि ल्याइएका १० गरी हालसम्म बाँकेमा ३० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।