२० असोज, काठमाडौं । चितवन, वीपी र विराटनगरमा गरेर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा १ जना, बीपी कोइराला प्रतिष्ठानमा १ जना र विराटनगरको नोबेल शिक्षण अस्पताल उपचारर २ जना कोरोना संक्रमितको ज्यान गएको हो ।
चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिएका छन् । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए । उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँंगै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
यस्तै विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जना पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । मृत्यु हुने ५० र ४५ वर्षीय पुरुष मोरङका हुन् । मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिएका छन् । उनका अनुसार ज्वरो आएको भन्दै पुरुषलाई उपचारका लागि चिन्ताजनक अवस्थामा सोमबार दिउँसो अस्पताल ल्याइएको थियो ।
स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजीटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालले बताएका छन् । उनका अनुसार भेन्टिलेटरमा उपचाररत पुरुषमा पाँच वर्षदेखि ब्लड क्यान्सरको पुरानो समस्या थियो ।
त्यस्तै रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय संक्रमित पुरुषको पनि मंगलबार बिहान २ः३० बजेतिर मृत्यु भएको जानकारी दाहालले दिएका छन् । उनलाई उपचारका लागि असोज १३ गते अस्पताल ल्याइएको थियो। स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालको भनाइ छ ।
मधुमेहको पुरानै समस्या रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको उनले बताएका छन् । आइसीयूमा राखेर उपचार थालिएको भए पनि पुरुषलाई बचाउन नसकिएको जानकारी उनले दिएका छन् । दाहालका अनुसार अहिले नोबेलको आइसोलेसनमा ३४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
उता बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रमममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान ३ का ६४ वर्षका पुरुषको उपचारका क्रममा आज बिहान ४ बजेर २० मिनेटमा मृत्यु भएको हो । डाईबीटिज र टिभि रोगबाट पिडीत उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा भर्ना गरेर उपचार हुँदै आएको थियो ।