लुम्बिनी

आफ्नो क्षेत्रमा राजधानी सरेकोमा दाङवासीले मनाए खुशीयाली

२१ असोज, काठमाडौं । आफ्नो क्षेत्रमा राजधानी सरेपछि दाङवासिले मंगलबार साँझ खुशीयाली मनाएका छन् । प्रदेश सभाको मंगलबारको बैठकले दाङलाई राजधानी बनाउने गरेको निर्णयको स्वागत गर्दै दाङवासिले वाजागाजा सहित र्याली निकालेर खुसियाली मनाएका हुन् ।

उक्त खुसीयालीमा दाङको भालुबाङ, लमही, घोराही, तुलसीपुर, नारायणपुर, बिजौरी, पुरन्धारा, गढवा, गोबरडिहा लगायतका स्थानमा सम्पुर्ण नागरिकले दीप प्रज्ज्वलन समेत गरेका थिए । मंगलबार प्रदेश ५ को प्रदेशसभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका बनाउने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो ।

यसअघि प्रदेश मन्त्रिपरिषद बैठकले देउखुरी उपत्यकामा पर्ने राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ ले चर्चेको भूभागमा प्रदेश राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेको थियो ।

रुपन्देहीलाई प्रदेश ५ को राजधानी बनाउने विषयलाई उल्ट्याएर दाङलाई राजधानि बनाउने निर्णय गरेपछि चर्काे विरोध भएको थियो । एतिमात्रै होईन प्रदेशसभा वैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केहि सांसद तोडफोडमा समेत उत्रिएपछि नेकपाले मतदानका लागी हवीप जारी गरेपछि बहुमतले उक्त प्रस्ताव पारित भएको हो ।

एकातिर प्रदेश राजधानी रहने भनिएको देउखुरी उपत्यकाको भालुबाङमा सबैभन्दा ठूलो उत्साह रहेको थियो भने अर्काेतिर रुपन्देहीमा कोलो दिनका रुपमा समेत मनाईएको थियो । कोरोना संक्रमणको जोखिमको बेवास्ता गर्दै स्थानीयवासी एकैठाउँ भेला भएर  बाजागाजासहित नाचगान गरेका थिए । लुम्बिनी प्रदेशको राजधानी दाङ बनेको खुसियालीमा दंगालीले बाजागाजासहित र्याली निकालेर खुसियाली मनाएका छन् । उनीहरुले प्रदेशसभाको निर्णयको स्वागत गर्दै जिल्लाभर दीपावली पनि गरेका थिए ।

प्रतिनिधि सभा सदस्य गंगा थारु, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेललगायतले राजधानी घोषणाको निर्णयको स्वागत गर्दै मुख्यमन्त्री र प्रदेशसभा सांसदहरुलाई धन्यवाद दिएका छन् । उनीहरुले यो निर्णय प्रदेशका सबै नागरिकका लागि न्यायपूर्ण रहेको बताए ।

भालुबाङका अगुवा गुञ्जबहादुर विष्टले दाङ राजधानीलाई प्रशासनिक केन्द्र बनाउन ढिला गर्न नहुने बताए । दाङ प्रदेश राजधानी घोषणा भएको खुसियालीमा नेकपा दाङले आयोजना गरेको द्वीप प्रज्ज्वलन कार्यक्रमलाई पूर्वसभामुख ओनसरी घर्तीले सम्बोधन गरेकी थिइन् । उनले दंगाली र सिंगो प्रदेशवासीलाई बधाई दिइन् ।

घोराहीमा दाङ प्रादेशिक राजधानी सरोकार समितिको ब्यानरमा धन्यवाद तथा स्वागत र्याली आयोजना गरिएको थियो । प्रदेशसभा बैठकबाट दाङ राजधानी र प्रदेशको नाम लुम्बिनी पारित भएलगत्तै दंगालीले ठाउँ–ठाउँमा राष्ट्रिय झण्डा, नेपालको अद्यावधिक नक्सा र ब्यानर बनाएर खुसियाली मनाए भने बेलुकीपख घरमा र चोकहरुमा दीपावली गरेका थिए । राजधानी पाएको खुशीयालीमा दाङवासीले घर–घरमै समेत मंगलबार साँझ दिपावली समेत गरी मनाएका छन् ।