पु.समाचार

राप्रपा सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा श्रेष्ठ

२६असोज, सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय एकतापछि नरसिंह श्रेष्ठका अध्यक्षतामा ३९ सदस्यीय नयाँ समिति गठन गरिएको छ । दीपकराज खरेल सहअध्यक्ष रहेको समितिका उपाध्यक्षमा टीकालक्ष्मी श्रेष्ठ, हीराप्रसाद नेपाल र होमप्रसाद भट्टराई रहेकाछन् । त्यस्तै सचिवमा नातिकाजी सापकोटा, सहसचिवमा दीपक थापा, कोषाध्यक्षमा कृष्णबहादुर गिरी र सहकोषाध्यक्षमा दुर्गा नेपाल रहेका छन् । जिल्ला प्रवक्तामा हरि नेपाल चयन भएको छ ।
पूर्वसांसद तथा केन्द्रीय सदस्य चलनबहादुर तामाङसहित अन्य केन्द्रीय सदस्यको उपस्थितिमा नयाँ समिति गठन गरिएको राप्रपा सिन्धुपाल्चोकले जनाएको छ । नयाँ समिति गठनसँगै राप्रपाले क्षेत्रीय तथा वडा समिति छिट्टै गठन गर्दैछ । पार्टी एकता समायोजन कार्यक्रममा नेताहरूले पार्टी एकीकरणलाई जोड दिइने बताए ।
चौतारा अस्पतालको आकस्मिकबाहेक सेवा बन्द
जिल्ला अस्पताल चौतारामा रहेका दुई बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द भएको छ । सोमबारदेखि अर्को सूचना नआएसम्म अस्पतालको आकस्मिकबाहेकको सबै सेवा बन्द भएको हो ।
बिरामीको प्रत्यक्ष सम्पर्कमा चिकित्सक आएको र उनीहरुको स्वाब सङ्कलन गर्नुपर्ने भएकाले अस्पतालको आकस्मिकबाहेकको सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमित प्रजापतिले एक सूचनामार्फत जानकारी गराउनु भएको छ । अब अस्पतालमा कोरोना र अत्यावश्यकबाहेक अन्य सेवा उपलब्ध नहुने बताइएको छ ।