बाग्मती

चितवन र रुपन्देहीमा गरी थप दुई कोरोना संक्रमितको मृत्यु

२७ असोज, काठमाडौं । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । चितवन र रुपन्देहीमा गरी दुई संक्रमितको मृत्यु भएको हो । चितवनमा उपचाररत संक्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् । उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी निमोनियाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा सोमबार राति ८ः१० बजे मृत्यु भएको हो ।

यस्तै रूपन्देहीको तिलोत्तमा-१५ की ३५ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक लम्सालका अनुसार श्वासप्रश्वासको समस्याका कारण असोज २१ गते अस्पताल भर्ना भएकी ती महिलामा २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा उनको सोमबार दिउँसो चार बजे कोभिड सघन उपचार कक्षको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो ।