८ कार्तिक, काठमाडौं । कोरोना संक्रमणका कारण दाङमा एक व्यक्तिको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेशनमा बसेका मालपोतका कर्मचारीको मृत्यु भएको हो ।
तुलसीपुर उपमहानगरपालिका–१८ घर भइ हाल घोराही–१५ स्थित आफ्नै घरमा बसेका संक्रमित ५३ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीले जानकारी दिएको छ ।
मालपोत कार्यालय घोराहीका कर्मचारी ती पुरुषमा गएको कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएदेखि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डी ल्याइएको थियो ।
तर त्यहाँ पनि उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।