१३ कात्तिक, बाँके । बाँकेमा एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । दाङ राप्ती गाउँपालिका वडा नम्बर १ का ६५ वर्षीय पुरुषको आज दिउँसो कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
लामो समयदेखि मधुमेहका विरामी उहाँमा कात्तिक १० गते कोरोना पुष्टि भएको थियो । उहाँ कात्तिक १० गते नै अस्पताल भर्ना हुनुभएको थियो । यो सँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैबीच, बाँकेमा आज ३४ जना कोरोना सङ्क्रमित निको भई घर फर्किएका छन् । जिल्लाका विभिन्न आइसोलेशनमा रहेका २१ पुरुष र १३ महिला कोरोनामुक्त भएर घर फर्किएका हुन् । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुने २ हजार ७ सय १२ पुगेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार, बाँकेमा कोरोना सङ्क्रमितको निको हुने दर ८९ दशमलव २१ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका २ सय ९८ र अन्य जिल्लाका ११ गरी ३ सय ९ जना छन् । बाँकेमा हालसम्म ३ हजार ४० जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्युु भइसकेको छ ।