गण्डकी प्रदेश

बन्दाबन्दीमा फुरेको उद्यमको सोच

१७ कात्तिक, बागलुङ । गत चैतअघिसम्म कमल राना पोखरामा बसे । त्यहाँ रहँदा प्रदेशसभा सदस्य पियारी थापाको स्वकीय सचिवका रुपमा काम गरे । एकाएक कोभिड–१९ को सन्त्रास छायो । मुलुकभर बन्दाबन्दी भयो ।

स्थिति असामान्य बनेपछि रानाले पोखरा छाड्ने निर्णय लिए। बन्दाबन्दीपछि जैमिनी नगरपालिका–७ जैदी, बोरस्थित घर फकेका रानाले केही समय फुर्सदमा बिताए । महामारीले सिर्जित अन्योलबीच उनमा नयाँ सोच फु¥यो । अब पोखरा नजाने, गाउँमै केही गर्ने ।

त्यसकै परिणाम ‘जैदी माछापालन, कृषि तथा पशु फार्म’ले जन्म लियो । “बन्दाबन्दीमा लामो समय घर बस्नुप¥यो, त्यही बेला व्यवसायतिर लाग्ने योजना बनाएँ”, २५ वर्षीय रानाले भने । उन अहिले स्वकीय सचिवको जिम्मेवारीबाटसमेत मुक्त भइसकेको छ ।

रानाले नगरपालिका र कर कार्यालयमासमेत फार्म दर्ता गरी व्यवसायलाई गति दिएको हो । वार्षिक ६० हजार भाडामा साढे पाँच रोपनी जग्गा लिइ माछा र बङ्गुरपालन थालेको उनको भनाइ छ । दुई वटा पोखरीमा गत असारमा राखेका चार हजार ७०० माछा अहिले हुर्किरहेका छन् ।

पोखरीमा कमन ग्राफ, नैनी र सिल्भर जातका माछा छन् । अर्को पोखरी पनि थप्ने रानाको योजना छ । आउँदो माघ/फागुनतिर माछा बेच्न योग्य हुनेछन् । ५० वटा बङ्गुर पाल्नका लागि राना अहिले खोर निर्माणमा जुटेका छन् । खाली रहेको जग्गामा केरा खेती पनि छ । “माछा र बङ्गुरपालनसहित व्यावसायिक कृषि खेतीलाई पनि विस्तार गर्ने सोचमा छु”, उनले भने । घरदेखि एक घण्टाको दूरीमा रहेको बेलबगरमा रानाको फार्म छ । त्यहाँ उत्पादित माछा, पशु र कृषिजन्य उपज नगरपालिकाको केन्द्र कुश्मीसेरा, गुल्मीको पूर्तिघाट, बरेङलगायत बजारमा खपत हुने उनले बताए ।

फार्म निर्माणमा हालसम्म सात लाख जति लगानी भइसकेको छ । आधा आफैँ र आधा ऋण खोजेर लगानी गरेको रानाले बताए । “अहिले घरकै सदस्यले काम धानेका छौँ, बुबा, दाइ, भाउजु सबैको सहयोग छ”, उनले भने । व्यवसाय विस्तार हुँदै गएमा अरुलाई पनि रोजगारी दिने रानाको योजना छ । अहिले माछालाई दानाबाहेक मासिक खर्च पनि खासै धेरै छैन ।

गाउँमै स्वरोजगार बन्ने उद्देश्यले रानाले शुरु गरेको व्यवसायप्रति घरपरिवार र छिमेकीसमेत खुशी छन् । बुबा उजिरसिंहले छोराको मेहनत देखेर व्यवसाय राम्रै हुने विश्वास जागेको बताए । रानाले केही समय सदरमुकाम बागलुङ बजारमा बसेर पत्रकारितासमेत गरेका थिए ।