समाचार

आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना

१८ कार्तिक, काठमाडौं । आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

विशेषगरी प्रदेश ४ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी भेगमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिएका छन् ।

देशका अरु ठाउँको मौसममा भने आंशिक देखि सामान्य बदली रहनेछ । काठमाण्डौ सहित केही पहाडी क्षेत्रमा बिहान लागेको बादल हटेर दिउँसो घाम लाग्ने सम्भावना छ । तर निरन्तर घाम लाग्ने सम्भावना भने छैन ।

एकैछिन घाम लाग्दै फेरि बादल लाग्ने छ । भोलि र पर्सिको मौसम पनि यस्तै नै रहने मौसमविद् श्रेष्ठले बताए । यसैबीच आज बिहान ६ बजेको काठमाण्डौ उपत्यकाको तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।