१९ कात्तिक, तम्घास । गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा पानी रोक्न बनाइएको ड्याम गुणस्तरहीन हुँदा चुहिएको छ । माथिबाट आएको पानी छेकी ताल बनाउने उदेश्यले गत आर्थिक वर्षमा रेसुङ्गा पोखरी नजिकै ड्यामको निर्माण गरिएको थियो तर ड्यामको मुनिपट्टी र छेउबाट समेत पानी चुहिएर बाहिर गएपछि ड्याम अर्थहीन जस्तै भएको छ ।
गत आवमा लुम्बिनी प्रदेश सरकारबाट डिभिजन वन कार्यालयमार्फत काम हुने गरी रेसुङ्गा क्षेत्रलाई एक करोड बिनियोजन भयो । सो रकममध्ये जङ्गलको बीच भागदेखि यज्ञशालासम्म सिँढी निर्माणका लागि ८० लाख र ड्याम निर्माणका लागि २० लाख विनियोजन भयो । ८० लाखमध्ये हाल सिढी निर्माणको काम पूरा भई बचेको रकमबाट मन्दिर निर्माण गर्न शुरु गरिएको छ तर २० लाखबाट निर्माण भएको ड्याम भने गुणस्तरहीन हुँदा पानी चुहिएर नअडिने भएको छ ।
पोखरीनजिकै माथिबाट आएको पानी रोक्ने उदेश्यले ड्याम निर्माण गरिएको थियो । वन कार्यालयको लागत अनुमानअनुसार २० लाखमा तीनओटा ड्याम, पोखरीमा जाने सिँढी र गौमुखी धाराको संरक्षणको काम गर्नुपर्ने भएपनि त्यसमध्येबाट एउटा ड्यामको स्टिमेट नै हटाइएको थियो । अहिले १५० मिटरको दुरीमा दुई ड्याम निर्माण गरिएको छ । ती ड्यामले पानी नरोक्दा आलोचना शुरु भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।
डिभिजन वन कार्यालयले कार्यक्षेत्रभन्दा बाहिरको सामुदायिक वनलाई काम गर्न दिएर तालको डिजाइन नै बिगारेको उनको आरोप छ । रेसुङ्गा नगरपालिकाका सब–इन्जिनियर चक्र केसीले पोखरीको गेटमा अहिले बनाइएका सिँढीको कुनै अर्थ नभएको बताए ।
डिभिजन वन कार्यालयले शुरुमा रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिसँग कामको सम्झौता ग¥यो । उपभोक्ता समितिले स्थानीय राजन काउछालाई कामको जिम्मेवारी दिएको थियो । काउछाले फेरि दिपेश अर्याललाई ठेक्कामा दिएका थिए । अर्यालले भने अनुसारको काम नगरेपछि अन्तिममा जीतबहादुर गुरुङमार्फत काम सम्पन्न गरिएको छ । सरकारबाट बिनियोजन भएको रकममा तीन लाख २४ हजार ९२२ श्रमदान गर्नुपर्ने थियो तर उक्त श्रमदान भने भएको छैन ।
ड्यामको लागि कार्यालयबाट १२ लाख ६७ हजार ६५४ भुक्तानी भएको छ । काम गुणस्तरहीन भएपछि डिभिजन वन कार्यालयले अहिले फरक तर्क गर्ने गरेको छ । कार्यालयका प्रमुख प्रभात सापकोटाले ड्यामले पानी रोक्न नभई ढल छेक्ने काम गर्ने बताए ।