२० कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ गौरीघाटबाट झण्डै दुई किलो चरेशसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा पात्ले गाउँपालिका–९ घर भई काठमाडौँको तीनचुली बस्ने ३२ वर्षीय नरेन लामा, धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौँ गुर्जुधारा बस्ने १७ वर्षीय किशोर लामा, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भन्ने सुमन तामाङ र पर्साको ठोरी गाउँपालिका–५ घर भई काठमाडौँ तीनचुली बस्ने ३५ वर्षीय दिपक तामाङ रहेका छन् ।
विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको चरेशसहित उनीलाई पक्राउ हो । अभियुक्तलाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको महाशाखाले जनाएको छ ।
बैंकिङ कसुर मुद्धाका फरार पक्राउ
यसैबीच बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पर्सा वीरगञ्ज महानगरपालिका–६ माईस्थान बस्ने ५८ वर्षीय सत्यनाराणप्रसाद रौनियारलाई काठमाडौँ रातोपुलबाट प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूरअन्तर्गत छुट्टाछुट्टै दुई मुद्धामा उच्च अदालत पाटनको विसं २०७५ चैत १० र विसं २०७६ फागुन २७ को फैसलाले ४५ दिन कैद र रु ७० लाख जरिवाना ठहर भई उनी फरार भएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले लुकीछिपी बसिरहेको अवस्थामा उनलाई बुधबार पक्राउ गरी फैसला कार्यानवयनका लागि आज जिल्ला अदालत पर्सामा पठाइएको जनाइएको छ ।
खातामा रकम नभएको जानीजानी उनले रु ७० लाखको चेक काटी बैङ्किङ कसूरजन्य अपराध गरेको अनुसन्धानबाट खुल्न आएको सिआइवीले आज एक सूचना जारी गरी जनाएको छ ।