गण्डकी प्रदेश

यशोब्रह्मको निशानगढी कालिका मन्दिर पुनःनिर्माण माग

२२ कात्तिक, लमजुङ । गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले भग्नावशेषयुक्त निशानगढी कालिका मन्दिरको स्थलगत निरीक्षण गरेका छन् । बेँसीशहर नगरपालिका –११ चिती रामचोकस्थित मन्दिरको पुनःनिर्माण गरी ठडाउनका लागि सहयोग तथा पहल गर्न स्थानीयवासीले उनीसँग माग गरेका छन् ।
निशान गढी कालिका धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष राजाराम सेढाईँले ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सो क्षेत्रको विकासमा पहल गर्न प्रदेशसभास सदस्य दवाडीसँग आग्रह गरे । विसं २०७२ को भूकम्पले जीर्ण मन्दिरको पुनःनिर्माण गर्न कम्तीमा १५ लाख तथा गढी पूरै संरक्षणका लागि करीब रु दुई करोड रुपैयाँ लाग्ने जनाइएको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सदस्य फूलबहादुर थापा, ईश्वर पाण्डे, वासुदेव सेढार्इँलगायतले पुनःनिर्माणका लागि सम्बन्धित निकायको ध्यान नपुगेको बताए ।
नेकपा लमजुङका सचिव दवाडीले गढी तथा मन्दिर ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका रहेकाले यसको प्रचारप्रसारमा स्थानीय नै अग्रसर हुनुपर्ने तथा ठाँटी, बाटो र शिलालेखको खोजीसमेत गर्नुपर्नेमा जोड दिँदै स्थानीयवासीलाई सो क्षेत्रको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न आग्रह गरे ।
यहाँ विसं १५५० लमजुङ दरबारमा राजगद्दी सम्हालेका यशोब्रह्म शाह बेलाबेला निशानागढीमा आएर बस्ने गरेको र सैनिकले मन्दिरमा पूजा गर्ने गरेको स्थानीयवासी बताउँछन् । पुरातात्विक विभागको टोलीले गत वर्ष सो क्षेत्रको निरीक्षण गरेको थियो । टोलीले निशानगढीलाई काँडेतारले बेरेर राखेको छ । सो स्थानबाट विभिन्न स्थान तथा हिमाल देख्न सकिन्छ ।

वडा कार्यालय भवन निर्माण शुरु
उत्तरी भेगस्थित मस्र्याङ्दी गाउँपालिका वडा नं ३ को वडा कार्यालय भवन निर्माण शुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा बन्न लागेको भवनको सोही वडाको खुदी बजारमा आज गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले शिलान्यास गर्दै पालिकामा ९ वटा वडा रहे पनि हालसम्म कुनैको आफ्नै भवन नरहँदा वडाले सेवा प्रवाहमा समस्या भोग्दै आएको बताए । वडाध्यक्ष प्रेमबहादुर बस्नेतका अनुसार भवन आगामी चैत मसान्तसम्म निर्माण सम्पन्न हुनेछ ।
आठ आना जग्गामा निर्माण हुन लागेको भवन एउटा सभाकक्षसहित ६ कोठाको हुने छ । गाउँपालिकाका अनुसार रु ६९ लाखमा वडा कार्यालय भवन निर्माण हुने छ । सो पालिकामा चक्रीय अन्नपूर्ण पदमार्गसमेत पर्छ । पालिकाका वडामध्ये यसअघि वडा नं १ को भवन निर्माण थालनी भएको छ ।