समाचार

पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य लामाको निधन

२३ कार्तिक, काठमाडौं । पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । ७० वर्षिय लामाको आइतबार बिहान ४ बजे पाटन अस्पतालमा निधन भएको छोरी श्रमिक लामाले जानकारी दिएकी हुन् ।

दुवै मिर्गाैलाले काम गर्न छाडेपछि लामा पछिल्लो २ वर्षदेखि नियमित डायलाइसिस गराइरहेका थिए । निमोनिया भएपछि गत सोमबार लामालाई पाटन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो भने बिहीबारदेखि भेन्टिलेटरमा राखिएको थियो । कोरोना महामारीका कारण डायलाइसिस गर्न समस्या परेको उनको परिवारका सदस्यले बताएका छन् ।

निमोनियाका कारण ज्वरो आएको लामालाई चारपटक कोरोना परीक्षण गरी चारैपटक रिपोर्ट नेगेटिभ आएपछि मात्र अस्पतालले भर्ना लिएको परिवारले जनाएको छ ।

२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०६२र०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा भने पराजित भएका थिए ।

२०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दीमध्ये लामा एक थिए ।